टेलिग्राम बन्द गर्ने सरकारको निर्णय रुसी दूतावासद्वारा अवज्ञा

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०८२, १२ : ५५
टेलिग्राम बन्द गर्ने सरकारको निर्णय रुसी दूतावासद्वारा अवज्ञा

काठमाडौँ। सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले बन्द गराएको सामाजिक सञ्जाल टेलिग्राममा निरन्तर अपडेट गरिरहने काठमाडौँस्थित रुसी दूतावासले जनाएको छ ।

नेपाल सरकारले टेलिग्राम एप बन्द गराए पनि दूतावासको आधिकारिक टेलिग्राम च्यानल निरन्तर चलिरहने भन्दै सूचना नै जारी भएको हो । ‘तर, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लेटफर्मलाई ब्लक गर्ने निर्णय गरेकाले हाम्रो एकाउन्टमा पहुँचमा अवरोध हुनसक्ने सम्भावना छ’, दूतावासले भनेको छ, ‘हामी स्थिर सञ्चार कायम गर्न र अपडेटहरू वैकल्पिक माध्यममार्फत दिन पनि हरेक प्रयास गरिरहेका छौँ ।’

नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सूचना जारी गर्दै सेवा प्रदायकहरूलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । त्यसपछि नेपालमा टेलिग्राम चल्न छाडेको छ । यस्तोमा काठमाडौँस्थित रुसी दूतावासले विकल्पका रूपमा रुसी सामाजिक सञ्जाल भीके प्रयोग गर्न समेत सुझाएको छ ।

भीके र टेलिग्राम दुवैका सञ्चालक एकै व्यक्ति हुन् । सन् २०१३ मा टेलिग्रामको स्थापना गर्नुअघि रुसी उद्यमी पावेल डुरोभले रुसको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भिके स्थापना गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस