चितवन प्रहरीको सफलता : पाँच लाख ८० हजार नगद र लागुऔषधसहित दुई जना पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, ०९ मंसिर २०७५, १५ : ००
चितवन प्रहरीको सफलता : पाँच लाख ८० हजार नगद र लागुऔषधसहित दुई जना पक्राउ

चितवन । चितवन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ भरतपुर महानगरपालिका २ समीचोकबाट भरतपुर महानगर २ बस्ने २५ वर्षीय केशव घले र सोही स्थानका २४ वर्षीय विशाल घलेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइजेपाम २ सय ७१ एम्पुल, व्युप्रिनर्फिन २ सय ७१ एम्पुल, फेनारगन २ सय ७१ एम्पुल र नगद रु ५ लाख ८० हजार १ सय ८० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

लागुऔषध बेचबिखिन गर्दै हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई प्रहरी सहायक निरीक्षक सिताराम खतिवडाको कमाण्डमा खटिएको टोलीले शुक्रबार बेलुकी ८ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो । पक्राउ परेका घलेद्वयले भैरहवा नाकाहुँदै भारतको सुनौली गई लागुऔषध खरिद गरी ल्याएर बिक्री गर्ने गरेको र बरामद भएको रकम लागुऔषध बिक्रीबाट आर्जन गरेको स्वीकार गरिसकेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनु भयो । पक्राउ परेकाहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस