प्रहरीलाई निष्पक्ष काम गर्ने वातावरण बनाउनुपर्छ : आइजीपी प्रधान

सफल खबर संवाददाता

बुधबार, ११ असार २०८२, १२ : ३६
प्रहरीलाई निष्पक्ष काम गर्ने वातावरण बनाउनुपर्छ : आइजीपी प्रधान

काठमाडौँ । राप्रपाका सांसद तथा पूर्व प्रहरी आइजीपी ध्रुवबहादुर प्रधानले प्रहरी सङ्गठनलाई निष्पक्ष नबनाएसम्म उपलब्धि हासिल गर्न नसकिने बताएका छन् ।  बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आमन्त्रित सदस्यका रूपमा सहभागी प्रधानले प्रहरी सङ्गठन व्यवस्था जोगाउन मात्र प्रयोग गर्ने गरिएको अनुभव सुनाए । 

 

नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न राखिएको बैठकमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राईलगायत सहभागी छन् ।  

‘प्रहरी संगठनले स्वतन्त्रतापूर्वक काम गर्न सकोस् भन्ने वातावरण हामीले बनाउन सकेनौ भने र सत्ताको प्रयोगमा मात्र केन्द्रित भयौँ भने प्रहरीको क्षमताबाट उपलब्धि हुँदैन’, ‘अह्राएर गरौला भन्ने अवस्था हुनुहुँदैन ।’

 

प्रधानले हरेक सरकारहरूले सरकारले भनेअनुसार प्रहरीले काम गर्दिए हुने भन्ने अपेक्षा राख्ने गरे पनि त्यो जायज नहुने धारणा राखे ।  ‘प्रहरीलाई निष्पक्ष काम गर्न सक्ने वातावरण बनाउन सक्नुपर्छ’, प्रधानको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस