८ लाख खाँदा मिलापत्रमा उम्किएका नासु १० लाख असुल्न खोज्दा समातिए

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १३ : ३३
८ लाख खाँदा मिलापत्रमा उम्किएका नासु १० लाख असुल्न खोज्दा समातिए

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका नायव सुब्बा (नासु) पशुपति अधिकारी यसअघि पक्राउ परेर पनि मुद्दा नचली उम्केको पाइएको छ ।

विदेशमा मृत्यु भएकाको परिवारलाई सरकारले दिने राहत तथा क्षतिपूर्ति रकम पीडित परिवारलाई नदिई उनले लिएको पाइएपछि यसअघि पक्राउ परेका थिए ।

त्यतिबेला उनीसहित ८ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । सुरुमा ६ जनालाई २३ चैत २०७९ मा पक्राउ गरिएको थियो ।

त्यसको दुई दिनपछि नासु अधिकारी र एक बीमा अधिकृत पक्राउ परेका थिए । त्यतिबेला नासु अधिकारी वैदेशिक रोजगार बोर्डमै कार्यरत थिए । मृतकका परिवारले पाउने ८ लाख रकम नासु अधिकारीले खाएको आरोप लागेको थियो ।

तर यो प्रकरणमा मुद्दा नचली उनी छुटेको पाइएको छ । पीडित परिवारलाई उक्त ८ लाख रकम फिर्ता गरेपछि पीडित पक्ष र नासु अधिकारीबीच मिलापत्र भएर मुद्दा नचलेको पाइएको हो । ८ लाख रुपैयाँ फिर्ता गरेपछि उम्केका उनै नासु अहिले फेरि त्यस्तै प्रकरणमा सीआईबीको हिरासतमा छन् ।

उनीसहितको समूहले विदेश गएर फर्केकी काभ्रेकी सोमा थिङको मृत्यु भएपछि नक्कली कागजात बनाएर १० लाख रकम असुल्न खोजेको पाइएको थियो । त्यसपछि नासुसहित ६ जनालाई पक्राउ गरेर अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

उनीहरूमाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस