काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदामा गएर नफर्किने प्राध्यापकको छानबिन अन्तिम चरणमा पुर्याएको छ । त्रिविका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालका अनुसार छानबिन समितिले तथ्यांक संकलन गरिसकेर रुजु गर्ने काम गरिरहेको बताए ।
‘छानिबिन समितिलाई ताकेता गरिरहेको छु । अर्को हप्ता रिपोर्ट पेस हुन्छ । तथ्यांक संकलन गरेर रुजु गर्ने काम भइरहेको छ,’ उनले भने । त्रिविले डा. जीवन काफ्लेको संयोजकत्वमा खोजबिन समिति बनाएको थियो । समितिले क्याम्पस–क्याम्पसमा पुगेर नफर्किने प्राध्यापकहरुको सूचि तयार पारेको छ ।
त्रिविका प्राध्यापकले अध्ययनका लागि ५ वर्षको तलबी बिदा पाउँछन् । बिदा सकिएपछि फर्किएर जति बिदामा बसेको हो सो बराबर काम गर्नुपर्ने नियम छ ।
त्रिविको नियममा ३ वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा ३ वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ ।
यदि नफर्किएमा आफूले बिदामा बसेको अवधिको सबै तलब भत्तामा १२ प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने नियम छ । तर अध्ययन बिदामा गएका धेरैजसो प्राध्यापक नफर्किने र तलब भत्ता पनि फिर्ता नगर्ने गरेको पाइएको छ ।
त्रिविको १० वर्षको तथ्यांक हेर्दा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएको देखिन्छ । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र कति फरार छन् भन्ने अभिलेख त्रिविसँग छैन । १० वर्षमा बिदा बस्ने शिक्षकको तलब मात्रै हिसाब गर्दा पनि न्यूनतम २ अर्ब बढी गएको छ । अध्ययन बिदामा गएका प्राध्यापक नफर्किदा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ ।
त्यसैगरी त्रिविले प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय पनि उल्टाउने भएको छ । नियम विपरीत त्रिविका प्राध्यापकले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन् । त्रिविका रजिस्ट्रार रिजालले यो निर्णय कार्यकारी परिषद्ले उल्टाउने तयारी गरेको बताए ।
‘बेतलबी बिदा सेवा अवधिमा जोडेर पेन्सन लिने निर्णय कार्यकारीबाट निर्णय गर्छौं । कानुनी सल्लाहमा छौँ,’ उनले भने ।
बहालवाला तथा पूर्व पदाधिकारीले समेत बेतलबी बिदा जोडेर पेन्सन बुझिरहेका छन् । यो गैरकानूनी र अनैतिक कार्यले त्रिविलाई ठूलो आर्थिक भार परेको छ । त्रिविका अनुसार हाल उपप्राध्यापकदेखि प्राध्यापकसम्म कुल ४ हजार १५६ जनाले पेन्सन लिइरहेका छन् ।
जसमध्ये १२६ जनाले बेतलबी बिदालाई सेवा अवधिमा जोडेका छन् । यो संख्या अझैं धेरै रहेको त्रिविका कर्मचारीहरू बताउँछन् । त्रिविबाट वार्षिक ६ करोड ७३ लाख बढी रकम पेन्सनमा गएको देखिन्छ ।
यतिसम्म कि पेन्सन खान २० वर्ष सेवा गरेको हुनुपर्छ तर १७ वर्ष सेवा गरेकाले पनि ३ वर्ष बेतलबी बिदा जोडेर पेन्सन बुझिरहेका छन् । त्रिविका उपकुलपति प्रा.डा. खड्ग केसीले बेतलबी बिदालाई सेवा अवधिमा जोड्ने निर्णय उल्टाउने बताए । ‘कार्यकारीबाट निर्णय गर्छौं,’ उपकुलपति केसीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ जेठ २०८२, ११ : ०६
लेखकबाट थप