जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, १६ : २२
जनताको असन्तोषलाई समस्या मान्नु हुँदैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बेला–बेला देखिने असन्तोषलाई समस्या मान्न नहुने बताएका छन् । १५ जेठमा आयोजना गरिएको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले असन्तोष जनतामा मात्र नभएर राजनीतिक दलहरूमा पनि आउने बताए।

‘जनताको असन्तोष समस्या होइन । राजनीतिक दलहरूमा पनि असन्तोष हुन्छ, चाहे जति परिवर्तन भएन भन्ने हुटहुटी हुन्छ,’ उनले भने, ‘हामी पनि थप प्रगतिका लागि हतारिएका छौं । त्यसैले हामी जनताको असन्तोषलाई सामान्य मान्छौं ।’

महासचिव पोखरेलले असन्तोषलाई सामान्य माने पनि नकारात्मकताको प्रसारलाई भने सामान्य मान्न नहुने बताए ।‘हामी यति धेरै नकारात्मक बनेका छौं कि भइरहेको सुधारलाई पनि देख्न छाडेका छौं,’ पञ्चायतकालको अन्तिम समययता मुलुकले गरेको प्रगतिको लामो तथ्यांक प्रस्तुत गरेपछि उनले भने, ‘यो नकारात्मकता चिर्न राजनीतिक दलहरू जनताको बीचमा जानुपर्छ भनेर नै हामीले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन लागेका हौं ।’

उनले लामो समयदेखि सरकार स्थिर बन्न नसक्दा पनि जनतामा असन्तोष देखा पर्ने गरेको उनले बताए । ‘जति गर्नुपर्ने हो त्यति गर्न हामीले सकेका छैनौं । किनभने, परिणाम निकाल्न रजनीतिक स्थिरता आवश्यक छ । अस्थिरताले चाहेजति काम गर्न सकेनौं । त्यसैले अहिले बलियो राष्ट्रिय शक्ति निर्माणका लागि हामी अगाडि बढिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस