आहा ! मुखै रसाउने तामिनको सुन्तला

बाबु कृषभ

आइतबार, ०२ मंसिर २०७५, १६ : ०५
आहा ! मुखै रसाउने तामिनको सुन्तला

चितवन । चिसो बढ्दै छ, पहारिलो घामको माया पनि झन्झन् बढ्दैछ । त्यसमाथि सुन्तला । आहा ! मुखै रसाउँछ । त्यसमा पनि अन्त हो र, चितवन इच्छाकामना गाउँपालिका ५ तामिनको सुन्तला भनेपछि मुखबाट पानी लगातार बग्छ । 
तामिनको सुन्तला भनेपछि विशेषता छुट्टै छ । यहाँका सुन्तलामा ठूला दाना मात्र हुँदैनन् । प्रत्येक सुन्तलामा दुई वटा पात हुन्छन् । ठूला केस्रा हुन्छन् । मुखमा राख्यो कि यति मीठो हुन्छ कि, बयान गर्नै सकिदैन । लौ त भनम् भने तामिनको दुई वटा सुन्तलाले उस्तै परे पेट भर्छ । तामिनको सुन्तलाअगाडि अरु ठाउँको सुन्तलाको कुरै नगरौँ, सीधै फ्लप खान्छ ।
यस्तो सुन्तला कहाँ पाइन्छ त ? मुग्लिन बजारमा तामिनको सुन्तला पाइन्छ । मुग्लिन बजारमा ठेलाठेलामा तामिनको दुई वटा पातसहितको सुन्तला पाइन्छ । मुग्लिनका व्यवसायीहरु तामिन गएर सुन्तला खरिद गरेर ल्याउन थालिसकेका छन् । यतिबेला मुग्लिन बजारका ठेलामा तामिनको सुन्तला भेटिन्छ । मुग्लिन बजारमा सुन्तलाको ठूलो खपत हुन्छ । तामिनको सुन्तला मुग्लिनमै ठिक्क हुन्छ । तामिनको केही सुन्तला नारायणगढको बजारमा पनि आइपुग्छन् । 
‘हाम्रो मुख्य बजार मुग्लिन हो, अन्त कमै जान पाउँछ यहाँको सुन्तला, मुग्लिनका व्यवसायीहरुले सक्छन्’ तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भने, ‘तिहारदेखि नै तामिनको सुन्तला विक्री हुन थालेको हो, मुग्लिनका व्यवसायीहरुले बोटेबाट सुन्तला खरिद गर्छन् ।’ उनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ५ तामिनमा फलाइएको पातसहितको सुुन्तला मुग्लिन बजारमा धमाधम पठाइएको छ ।
किसानले पातसहितको सुन्तला प्रतिकिलो ६० रूपैयाँमा बिक्री गरिरहेका छन् । अध्यक्ष नेपालले भने, ‘ग्रेड लगाएको सुन्तला प्रतिकिलो ७० रुपैयाँसम्म विक्री भएको छ, नलागेको ६० रुपैयाँभन्दा माथि छ ।’ व्यवसायीका अनुसार तामिनको एउटै सुन्तला १५० ग्रामसम्मको हुन्छ । यो सुन्तला मुग्लिन बजारमा आएपछि बाहिरबाट आयात भएका सुन्तलाहरु कम बिक्छन् ।

१५ हेक्टर सुुन्तलाको पकेट क्षेत्र
इच्छाकामनाका विभिन्न वडाहरु सुन्तलाको पकेट क्षेत्र भएपछि यहाँका किसानहरु सुन्तलाखेतीतर्फ थप आकर्षण भएका छन् । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाको वडा नं ५ मा रहेको तामिन क्षेत्र, वडा नं २ मा रहेको तल्लो काउले क्षेत्र, ३ नं वडामा रहेको ढाप र साठीमुरेको केही भागलाई सुन्तला पकेट क्षेत्र भनेर घोषणा गरेको छ । झन्डै १५ हेक्टरलाई सुुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
‘कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले भने, ‘इच्छाकामनाका विभिन्न वडाहरुमा सुन्तला पकेट क्षेत्र घोषणा गरेपछि सुन्तलाखेती गर्न किसानहरु आकर्षित भइरहेका छन् । इच्छाकामनामा बर्सेनि ५ हेक्टरको दरले सुन्तलाखेतीको क्षेत्रफल बढिरहेको छ ।’ उनका अनसार यो वर्ष हावाहुरीले नोक्सान पु¥याएन, रोगव्याधिले पनि त्यति धेरै सताएन । यसवर्ष इच्छाकामनामा सुन्तलाखेती राम्रो भएको छ, यहाँका किसानहरुको जीवनस्तरमा सुधार आउने विश्वास छ ।

कहाँ कति छ सुन्तलाखेती ?
यसवर्ष इच्छाकामनाको वडा नं ३ मा सबैभन्दा बढी सुन्तलाखेती गरिएको छ । झन्डै १५० बिघामा सुन्तलाखेती गरिएको छ । वडा नं ५ मा ६० बिघामा, वडा नं २ मा ३० बिघामा, वडा नं ६ मा समेत सुन्तलाखेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख सुधीर श्रेष्ठले गत वर्ष चितवनको इच्छाकामनामा २ सय ४४ हेक्टरमा सुन्तलाखेती गरिएको जानकारी दिए । उनले भने, ‘यो वर्ष झन्डै २ सय ५० हेक्टरमा सुन्तलाखेती गरिएको छ, सुन्तलाखेती गर्ने किसान बढ्दा यसको क्षेत्रफल पनि बढिरहेको छ ।’
कृषि ज्ञान केन्द्रले सुन्तला पकेट क्षेत्रमा गत वर्ष ३ हजार बिरूवा वितरण गरेको थियो । इच्छाकामना गाउँपालिकाले पनि किसानहरुलाई सुन्तलाको बिरूवा वितरण गरेको इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले जानकारी दिइन् ।

 झन्डै २ करोडको कारोबार हुने 
इच्छाकामना गाउँपालिकामा भएको सुन्तलाखेतीबाट यस वर्ष झन्डै २ करोडको कारोवार हुने अनुमान गरिएको छ । विभिन्न सहकारी र कृषक समूहका अनुसार गत वर्ष डेढ करोडको कारोबार भएको थियो । तामिन कृषि सहकारीका अध्यक्ष नेपालले भने, ‘यस वर्ष इच्छाकामना गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको सुन्तलाखेतीबाट २ करोडको कारोबार हुने अनुमान गरेका छौँ ।’ उनका अनुसार यो वर्ष अत्यधिक फूल फुलेका र हावाहुरीले पनि असर नगरेको हुनाले सुन्तला बाक्ला फलेका छन् । इच्छाकामनाका दारेचोक, दाहाखानी, काउले, चण्डिभन्ज्याङ र कविलास सुन्तला खेती हुने ठाउँहरु हुन् । सो क्षेत्रमा झन्डै २०० किसानहरुले सुन्तलाखेती गरेका छन् । सुन्तला खेती राम्रो भएमा एक हेक्टर क्षेत्रफलमा १० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस