युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०८२, १५ : ४२
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण

काठमाडौं। रुसले युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनमार्फत् ठूलो हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा १४ जना घाइते भएको किभका अधिकारीहरूले जनाएका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसले किभतर्फ २५० वटा ड्रोन र १४ वटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको थियो, जसका कारण आवासीय भवनहरूमा आगलागी भएको छ ।

यो आक्रमण युद्ध शुरू भएयता किभमाथिको सबैभन्दा ठूलो संयुक्त हवाई हमलामध्ये एक भएको बताइएको छ । वायुसेनाले ६ वटा मिसाइल र २४५ वटा ड्रोन खसालिएको दाबी गरेको छ ।

 

 

 

 

 

 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्ता प्रत्येक आक्रमणसँगै संसार झनै विश्वस्त हुँदै गएको छ कि युद्ध लम्बिनुको कारण मस्को नै हो ।’यो आक्रमण त्यसको केही घण्टापछि भएको हो जब रुस र युक्रेनले टर्कीमा भएका वार्तापछि बन्दी विनिमय गरेका थिए ।

 

 

राष्ट्रपति जेलेन्स्कीले किभभर आगलागी र विस्फोट भएको उल्लेख गरेका छन् । उनका अनुसार घर, पसल र गाडीहरूमा क्षति पुगेको छ । किभको केन्द्र नजिकै बस्ने ६४ वर्षीया ओल्हा चिरुखाले युद्धविरामको सहमति गरे हुन्थ्यो भन्ने कामना गरिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । 

‘रुसलाई युद्धविराम गर्न दबाब दिन चाहिने एकमात्र उपाय भनेको रुसको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई लक्षित गरी थप प्रतिबन्ध लगाउनु हो’, जेलेन्स्कीले भनेका छन् । 

गत साता रुसले युक्रेनले सयौं विस्फोटक ड्रोन रुसमा पठाएको दाबी गरेको थियो, जसमा मस्कोमाथि पनि आक्रमण गरिएको थियो । रुसको रक्षा मन्त्रालयका अनुसार ४८५ वटा ड्रोन खसालिएको थियो ।