जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०८२, १३ : ५१
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न

काठमाडौँ। रास्वपा सांसद गणेश पराजुलीले सहकारी ठगी प्रकरणमा काँग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान प्रक्रिया अघि नबढाएकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङलाई पक्राउ गरेर छानबिन प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘किन ठूला दलका नेताहरूलाई कारबाही गर्न हुँदैन भन्ने छ। उनलाई पनि पक्रेर कारबाही गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोध राख्ने उद्देश्य मात्रै हो ?’ उनले अहिलेसम्म कति सहकारी पीडितको रकम फिर्ता भयो देखाउन सरकारसँग माग गरेका छन्। काँग्रेसकै गृहमन्त्री भएको १० महिनासम्म पनि जीवी राई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे।

उनले थपे, ‘१६ अर्ब ९० करोडमध्ये जीवी राईले ७ अर्ब मात्रै आफूले लिएको र तिर्छु भनेको सुनियो। बाँकीको भागिदार कोको हुन् भन्ने अनुसन्धान हुँदा सबै उदाङ्गो हुने डरले पक्राउ नगरेको भन्ने भन्दैछन् जनता।’

उनले एपीवान टेलिभिजनमा पनि जीवी राईको लगानी रहेको तथ्य पुष्टि भइसकेको भन्दै सरकार ढल्ने डरले छानबिन प्रक्रिया अघि नबढाएको हो ? भन्दै प्रश्न गरे।

 

प्रतिक्रिया दिनुहोस