समाज परिवर्तनका धरोहर सूर्यबहादुर मास्के : जसले चितवनलाई धेरै दिएर जानुभयो

बाबु कृषभ

बुधबार, २८ कार्तिक २०७५, १६ : ४०
समाज परिवर्तनका धरोहर सूर्यबहादुर मास्के : जसले चितवनलाई धेरै दिएर जानुभयो

चितवन । सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । सबैभन्दा ठूलो शाश्वत सत्य पनि मृत्यु नै लाग्छ । मृत्यु कहिले हुन्छ थाहा छैन । कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौं चाहेर पनि मर्छौं नचाहँदा नचाहँदै पनि मर्छौं । यस सत्यप्रति कोही अनभिज्ञ छैनौँ । 
मृत्यु एक्लै आउँछ । खबर नगरिकनै आउँछ । अकस्मात आउने मृत्युसँग फगत एउटा कोलाहल हुन्छ, एउटा उत्पति हलचल, एउटा अशान्त पीडा र कल्पनातित विजोग, विचल्ली, हाहाकार हुन्छ ।
आज त्यस्तै, अनुभव भएको छ । समाज परिवर्तनका धरोहर, शिक्षाप्रेमी, समाजसेवी तथा कम्युनिष्टका अग्रज सूर्यबहादुर मास्के हामीमाझ हुनुहुँदैन । उहाँको निधनले सबैलाई स्तव्ध बनाएको छ । उहाँको निधनको ९ औं दिनको पुन्यतिथिमा निवास नारायणगढ पुतलीबजारमा आज भएको श्रद्धाञ्जली कार्यक्रममा उपस्थित वक्ताहरुले श्रद्धा प्रकट गर्दै सूर्यबहादुर मास्केको योगदानको बर्णन गर्दा लाग्थ्यो, उहाँले चितवनलाई धेरै दिएर जानुभयो, यस्ता व्यक्तित्व सायदै भेटिन्छ । 
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहन प्रधानले समाजसेवी मास्केले चितवनको शिक्षा क्षेत्रमा ठूलो योगदान गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवसाय क्षेत्रलाई सँगसँगै अगाडि बढाउँदै समाज परिवर्तनमा उहाँले ठूलो भूमिका खेल्नुभएको छ, उहाँको योगदान भुल्नै सकिदैन ।’ 

मृत्यु र जीवन एक अर्कोको विकल्प होइन । एक अर्कोको शत्रु पनि होइन । मृत्युसँग जीवन गाँसिएको हुन्छ, जीवनलाई मृत्युले लय, छन्द गीत दिन्छ । जहाँ जीवन छ त्यहाँ मृत्यु हुन्छ, जहाँ मृत्यु छैन त्यहाँ जीवन पनि हुँदैन । आखिर जानुछ, धेरै दिएर समाजिक व्यक्तित्व मास्के हामीमाझबाट कहिल्यै नफर्कने गरी बिदा हुनुभयो । 
आज उहाँको निवासमा शुभचिन्तकहरुको भीड लागेको छ । संघसंस्थाहरु श्रद्धाञ्जलीको लागि आइरहेका छन् । परिवारजनमा समवेदना दिइरहेका छन् । उनीहरु भनिरहेका छन्, ‘आयो टप्प टिप्यो, लग्यो टारेर टर्दोरहेनछ ।’  
मरेपछि बाँच्दाको स्वाद मर्नेलाई थाहा हुँदैन । मरेपछि कहाँ पुग्छौँ यसको पनि उत्तर छैन । तर बाचुञ्जेल समाजमा एउटा गतिलो उदाहरणीय छाप छोड्नुपर्छ, त्यही छाप आज सूर्यबहादुर मास्केले छोड्नुभएको प्रभात जोशीले बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘उहाँलाई म सानैदेखिबाट चिन्छु, उहाँले चितवनलाई धेरै दिएर जानुभएको छ, सबैको प्रेरणाको स्रोत बन्नुभएको छ ।’ 
१९९२ मंसिरमा जन्मेका मास्केको कार्तिक २० गते उपचारको क्रममा निधन भएको हो । चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको ८३ वर्षको उमेरमा निधन भएको छ । 

जीवनभर शिक्षाको उन्नयन र वामपन्थी राजनीतिलाई फराकिलो बनाउन क्रियाशील रहेका वामपन्थी नेता मास्के भोजपुरमा जन्मेर गोरखा र वन्दीपुरमा बाल्यकाल बिताउनुभएको थियो । मास्के २०१४ सालमा चितवन झर्नुभएको हो । मास्केले १८ वर्षको उमेरमा पुष्पलाल श्रेष्ठको हातबाट काठमाडौँमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।  रेडक्रसका केन्द्रीय उपाध्यक्ष, बालकुमारी कन्या माविका व्यवस्थापन समितिका पूर्वअध्यक्ष, लायन्स क्लब अफ नारायणगढका पूर्व अध्यक्ष, नारायणी कला मन्दिरका पूर्व अध्यक्षलगायतका दजनौँ संघसंस्थामा आबद्ध हुनुभएको थियो । उहाँ चितवनको प्रसिद्ध व्यवसायी हुनुहुन्छ । उहाँका २ छोरा र १ छोरी छन् ।


 

प्रतिक्रिया दिनुहोस