नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?

सफल खबर संवाददाता

विहीबार, १८ बैशाख २०८२, ०७ : ४३
नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले सरकारसँग ९ बुँदे सहमतिपछि के भने ?

काठमाडौ । सरकारले शिक्षक आन्दोलनसँग सम्बन्धित ९ बुँदे सहमति गरेपछि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको सफलतामा सहभागी सबैप्रति आभार प्रकट गर्दै आगामी चरणमा सहमति कार्यान्वयनमा जुट्ने बताएका छन्।

सुवेदीका अनुसार २०८१ माघ २० गतेबाट सुरु भएको आन्दोलन ८९ दिनसम्म सञ्चालन भयो भने अन्तिम २९ दिन काठमाडौं केन्द्रित सडक आन्दोलनको रुपमा व्यापक सहभागिता र समर्थन पाइयो। उनले आन्दोलनमा अनुशासित, संयमित र उत्साहित सहभागिताका लागि सबै शिक्षक–कर्मचारीप्रति कृतज्ञता व्यक्त गरे।

उनले सहमतिबाट हासिल प्रमुख उपलब्धिहरू यस प्रकार उल्लेख गरेका छन्:

समान ग्रेड र तलबको विषय समाधान

अस्थायी शिक्षकमाथि विरामी विदा सञ्चय हुने व्यवस्था

शिक्षकलाई सिभिल अस्पतालमा उपचार सुविधा

सबै शिक्षकका लागि दुर्गम भत्ता सुनिश्चित

मर्यादाक्रमसम्बन्धी विषय सम्बोधन

राहत, करार, उमावि, सिकाइ अनुदान, प्राविधिक, विशेष शिक्षालगायतका शिक्षक तथा विद्यालय कर्मचारीको स्थायित्व ऐनमार्फत सुनिश्चित हुने

सुवेदीले शिक्षासम्बन्धी विधेयक पारित गर्न समय लाग्ने भएकाले संसदीय दलका प्रमुख सचेतक र सम्बन्धित समितिको सभापतिबाट सार्वजनिक प्रतिबद्धता गराएर २०८२ असार १५ मा संसदबाट ऐन पारित हुने सुनिश्चित गरिएको जनाए।

उनले आन्दोलनका क्रममा प्रहरी हस्तक्षेप हुँदा ६२ जना घाइते भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे।

“अब जारी हुने ऐनमा सहमतिको कार्यान्वयन सुनिश्चित गर्न हामी निरन्तर संलग्न रहनेछौं,” सुवेदीले लेखेका छन्।

उक्त भनाइ सुवेदीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।