चितवनमा भाइटीकाको राति १९ जना जुवाडे पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, २४ कार्तिक २०७५, १४ : ०३
चितवनमा भाइटीकाको राति १९ जना जुवाडे पक्राउ

चितवन । चितवन प्रहरीले जुवातासमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिएको टोलीले भाइटीकाको राति ११ः३० बजे खैरहनी नगरपालिका वडा नम्बर १० स्थित महादेव चौधरीको कुखुरा पोल्ट्री फार्ममा कौडा र तास खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट कौडा १६ थान, तास १ बुक र नगद २ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । चितवन प्रहरीले सुरु गरेको थ्रिएस अप्रेसन अन्तर्गत जुवातास नियन्त्रण गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसूरमा थप अनुसन्धान र कारबाही भइरहेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताउनु भयो ।

जुवातास खेल्नु र खेलाउनु कानून विपरीतको कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय चितवनले  अनुरोध गरेको छ । कहीँ कतै जुवा खेले वा खेलाएको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराई दिन कार्यालयले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस