तिहारको बजार पिट्ने ५ आइकन गीत : जसलाई अरुले जितेनन्

विहीबार, २२ कार्तिक २०७५, १२ : २०
तिहारको बजार पिट्ने ५ आइकन गीत : जसलाई अरुले जितेनन्

नेपालीहरुले दसैँपछि यतिबेला अर्को ठूलो चाड तिहार मनाइरहेका छन् । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिनसम्म तिहार मनाइन्छ ।  
धार्मिक तथा पौराणिक रुपमा सुरु भएको तिहारलाई देउसी भैलोगीतले अझै सुनमा सुगन्ध थपेको छ । विभिन्न नेपाली कथानक चलचित्रहरुमा तिहार गीतहरु समावेश गरिएको छ । केही तिहारका यस्ता गीत छन्, ती गीतलाई आजसम्म अन्य थुप्रै आएका गीतहरुले जित्न सकेका छैनन् । त्यस्ता केही गीतलाई सदाबहार तिहार गीतका रुपमा लिन सकिन्छ । 

आइकन नं १ 

‘तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन’

यो गीत झन्डै दुई दशकअघिको गीत हो । आजसम्म पनि सदावहार छ । तिहार भन्नेबित्तिक्कै जोकोहीलाई यही गीतको सम्झना आउँछ । यो गीत बज्न थालेपछि तिहार आएको चाल पाउनेहरु पनि यहाँ धेरै छन् । 
यो गीत नेपाली चलचित्र स्वर्गको हो । यसमा नायक शिव श्रेष्ठ र नायिका गौरी मल्लले नृत्य गरेका छन् । यादव खरेलको शब्द रचना रहेको यो सदाबहार तिहार गीतका संगीतकार भने शम्भुजित बाँस्कोटा हुन् । 
शम्भु प्रधानले निर्देशन गरेको चलचित्र स्वर्ग यही गीतका कारण निकै सफल भएको थियो । संगीत सम्राटको उपाधि पाएका स्वर्गीय गोपाल योञ्जनको संगीत र स्वर रहेको उक्त गीत मौलिक लोकभाकामा आधारित थियो ।

आइकन नं २

‘दियो बाली साँझको
फूल सजाई पूजाको..’

यो गीत पनि तिहारको अर्को चर्चित गीत हो । चलचित्र चिनोको गीत हो । 
चिनो चलचित्रको यो तिहार गीत २०४८ सालदेखि आजसम्म हरेक तिहारमा बज्दै आएको छ । यो गीत पनि तिहारको सदावहार गीत बन्न सफल भएको छ । तुलसी घिमीरेले निर्देशन गरेको चलचित्रको यो गीतमा भारतीय गायिक आशा भोसलेले स्वर दिएकी छिन् । यो गीतमा निर्देशक घिमिरेकै शब्द र रन्जित गजमेरको संगीत छ ।

आइकन नं ३

‘निधारमा लगाएर सप्तरंगी टीका,
हिँडिरहुँ सधैं तिमी शिखरको बाटो

तिहारको समयमा पनि यो गीत खुब बज्दछ । ज्यादै मार्मिक गीत हो यो । चलचित्र विजयपराजयको यो गीत तिहारको बेला रेडियो टिभीमा खुब गुञ्जन्छ । यो गीतले भने समग्र तिहारभन्दा पनि भाइटीकाको महत्व दर्शाएको छ । शम्भुजित बाँस्कोटाको संगीत र हेमलताको स्वर रहेको यस गीतको रचना कवि दिनेश अधिकारीले गरेका हुन् । गीतमा दुई दाजु भुवन केसी र कृष्ण मल्ल अनि बहिनी बनेकी रुपा रानाबीको भाइटीकाको प्रसंगलाई उजागर गरिएको छ । यो चलचित्रको निर्देशन राजेन्द्र सलभले गरेका हुन् ।

आइकन नं ४
‘ए हजुर यसपालीको 
तिहारै रमाइलो...’

यो गीत नेपाली चलचित्र कोहिनुरको हो । नायिका स्वेता खड्का र दिवगंत भइसकेका नायक श्रीकृष्ण श्रेष्ठले यो गीतमा नृत्य गरेका छन् । तिहारको समयमा यो गीत पनि खुब बज्ने गरेको छ । प्रमोद खरेल र अञ्जु पन्तले गाएको यो गीतका सुन्दर शब्दहरु सुन्दर श्रेष्ठले लेखका हुन् । संगीत शम्भुजीत बाँस्कोटाले गरेका छन् । यो गीतले पनि तिहारको बजार पिटेको छ । ​

आइकन नं ५
‘वर्षमा दिनैमा लैलै...

यो गीत पनि अर्को लोकप्रिय पर्व गीत हो । सुगम पोख्रेलको स्वरमा रहेको यो गीतले पनि तिहारको समयमा बजार पिट्ने गरेको छ । तिहारमा बज्ने नयाँ गीतमा यो लोकप्रिय बनेको छ । यो गीत रवि श्रेष्ठले लेखेका हुन् । गीतमा सुगम पोख्रेलले स्वर भरेका छन् । दाजु र बहिनीको पारिवारिक मीठो सम्बन्धलाई यो गीतले दर्शाएको छ । 


 

प्रतिक्रिया दिनुहोस