चितवनमा २३ जुवाडे पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २२ कार्तिक २०७५, १२ : ११
चितवनमा २३ जुवाडे पक्राउ

चितवन । चितवनका दुई छुट्टाछुट्टै स्थानबाट कौडा खेलिरहको २३ जना जुवाडे पक्राउ परेका छन् । चितवन प्रहरीले संचालन गरेको थ्रीएस अप्रेसनअन्तर्गत जुवातास नियन्त्रण गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिएको टोलीले गए राति १ बजेको समयमा भरतपुर– १६ शरणपुरबाट कौडा खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट कौडा १६ थान र नगद १ लाख ४९ हजार ६ सय ८५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । 
त्यस्तै गए राति नै इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको प्रहरी टोलीले भरतपुर– १५ फुलवारी कमल पोखरीबाट कौडा खेलिरहेका ४ जनालाई पक्राउ गरेकोे छ । उनीहरुको साथबाट कौडा १६ थान र नगद ३ लाख ६ हजार २ सय ६५ रुपैयाँ बरामद गरिएको नायव उपरीक्षक रेग्मीले जानकारी गराउनु भयो ।

पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भइरहेको नायव उपरीक्षक रेग्मीले बताउनुभयो ।  

जुवातास खेल्नु र खेलाउनु कानून विपरीत कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । साथै कहीँ कतै जुवातास खेलिरहेको थाहा भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत कार्यालयले अनुरोध गरेको छ ।   
 

प्रतिक्रिया दिनुहोस