मानिसभन्दा कति गुणा बाठो हुन्छ काग ? (यस्ता छन् ५ कारण)

सोमबार, १९ कार्तिक २०७५, १३ : १८
मानिसभन्दा कति गुणा बाठो हुन्छ काग ? (यस्ता छन् ५ कारण)

आजबाट तिहार सुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार हो । मानवजाति र कागबीच अनौठो सम्बन्ध छ । तिहारको पहिलो दिन आज कागको पूजा धुमधामले गरिएको छ । मानिसहरु कागलाई मृत्यु र खराब कुराको संकेतको रुपमा पनि हेर्छन् । ‘शूभ बोल’ भन्दै सूचना बहाकको रुपमा पनि कागलाई लिएको पाइन्छ । विभिन्न देशमा भएको अध्ययन अनुसन्धानले काग मानिसभन्दा धेरै गुणा बाठो भएको पुष्टि गरेको छ ।

बाठो नं १
कागले मान्छेको अनुहार चिन्छ

तपाइँ कागको हुलमा गएर एउटा कागलाई हेर्नूस् । हेरिन्जेल चिन्नुहुन्छ । एकछिनपछि यताउता हेरेर पहिला हेरेको कागलाई हेर्नूस् त चिन्नुहुँदैन । सबै काग उस्तै हुन्छन् । एकछिनमै चिनेको काग एकछिनमा कुन हो कुन जस्तो हुन्छ । क्या फसाद ! चिनेको काग हुलमा हराउँछ । पहिला देखेको काग तपाइँले भेट्नै सक्नुहुन्न तर त्यो काग त्यो हुलभित्रै हुन्छ । पहिला जुन कागलाई देख्नुभयो, त्यो कागलाई तपाइँले नचिने पनि उसले तपाइँको अनुहार देखिरहेको हुन्छ । सीएटल विश्वविद्यालयले गरेको अनुसन्धानले कागले मान्छेको अनुहार चिन्छ भन्ने पुष्टि गरेको छ ।
अध्ययनका क्रममा विश्वविद्यालयका वैज्ञानिकले ७ वटा कागलाई समातेर उनीहरुमा एउटा चिनो लगाएका थिए । कागलाई समाउँदा र चिनो लगाउँदा वैज्ञानिकले छालाकै रंगको मास्क लगाएका थिए । समूहमा छोडिएका ७ वटा कागले जतिपटक मास्क लगाएका ती वैज्ञानिकलाई देखे । वैज्ञानिकमाथि खनिए । यो अध्ययनले कागले हरेक मान्छेलाई चिन्छ भन्ने मात्र पत्ता लागेन, कागले बदला लिन्छ भन्ने पनि पत्ता लाग्यो ।​

बाटो नं २
उपकरण र समस्या समाधान

पुस्तकहरुमा एउटा कथा पढ्न पाइन्छ । गाग्रोमा आधा पानी छ । तिर्खाएको काग पानी खान आउँछ । गाग्रोको आधा पानी उसको चुच्चाले भेट्न सक्दैन । कागले पानी खान नपाएपछि एकएक ढुंगा टिपेर गाग्रोमा भर्दै जान्छ । पानी माथिमाथि आउँछ । चुच्चाले भेट्न सक्ने भएपछि कागले कलकल पानी खान्छ ।
यो कथा बालपुस्तकहरुमा चर्चित छ । तर यो कथाको वैज्ञानिक पुष्टि भएको छैन । यसैलाई आधिकारिक पनि मानिँदैन । तर पछिल्लो चरणमा कागको एक प्रजातिमाथि गरिएको अनुसन्धानले यो कथामा भनेभन्दा पनि अझ बाठो काग रहेको पुष्टि भएको छ ।
कागमाथि अध्ययन गर्ने शोधकर्ताहरुले प्रारम्भिक चरणमा एउटा तारमा मासुको टुक्रा बाँधेर कागले कसरी समस्या समाधान गर्छ भनेर हेरे । यो अध्ययनमा कागलाई एउटा सानासाना ढुंगा भएको कोठामा राखिएको थियो । त्यही कोठामा पानी भएको ट्यूबमा कागले नभेट्ने गरी गड्यौला राखियो । यो अध्ययनको क्रममा दुईवटा कागले दुईपटक ट्रिक पत्ता लगाउन प्रयास गरे र अरु दुईवटा कागले पहिलो प्रयासमै सफलता प्राप्त गरे । यसको सबैभन्दा महत्वपूर्ण कुरा कागले आफ्ना गल्ती र खराब प्रयास मात्र पत्ता लगाएनन्, उनीहरुले ट्युबबाट बढी पानी बाहिर निकाल्न र गड्यौला भेटिने गरी ठूला साइजका रोडा समेत हाले ।

बाठो नं ३
कागको ‘काँ काँ’ सल्लाह
एक बैज्ञानिकले काग समाते । एकछिनमा समातेको कागलाई छोडियो । उसले ‘काँ काँ’ गर्दै साथीहरु बोलायो । एकछिनमै ती वैज्ञानिकमाथि सबै काग खनिए । वैज्ञानिकहरुले के पत्ता लगाए भने ‘काँ काँ’ कागको हल्ला होइन, सल्लाह हो । उनीहरु ‘काँ काँ’ भनेर एकआपसमा कुरा गर्छन् । आपत प¥यो भने सबै काग एकछिनमा जम्मा हुन्छन् ।

अध्ययनकै क्रममा देखियो कि एउटा समूहको कुनै कागले तपाइँलाई कहिल्यै देखेको छैन तर समूहको कुनै एउटा कागलाई तपाइँले केही नराम्रो गर्नुभएको छ भने तपाइँलाई सबै कागले चिन्छन् । किनकि तपाइँको बारेमा एउटा कागले अरु सबै कागलाई ‘काँ काँ’ गरेर बयान गरिसकेको हुन्छ । यो समूहमा मात्र नभएर जेनेरेसनसम्म पुग्छ । त्यसैले तपाइँले एउटा कागलाई ढुंगा हानेर धपाउनु भएको छ भने त्यसको सन्तानसम्मले तपाइँलाई चिन्छन् । त्यतिमात्र हैन, कागले तपाइँलाई नदेखे पनि तपाइँले कागविरुद्ध गरेको षडयन्त्र आवाजबाटै थाहा पाउँछ ।

बाठो नं ४

सन्देशको बाहक

क्यानडाको ओन्तारियो प्रान्तको चथाम् भन्ने ठाउँमा कागहरुले आफ्नो बसोबास सुरु गरे । आफ्नो बसाइँसराइको रूट त्यही राज्यलाई बनाए । फार्मिङका लागि प्रख्यात ठाउँमा लाखौंको संख्यामा कागहरुको आवजतावत हुन थाल्यो । राज्यको फार्मिङमै असर भयो । फलस्वरुप त्यहाँका मेयरले सबै काग मार्ने घोषणा गरे ।

त्यो बेला चथाम्‌मा कम्तीमा ६ लाख काग रहेको अनुमान गरिएको थियो । ६ लाखमध्ये कम्तीमा ३ लाख काग मार्ने योजना थियो । तर काग समुदायले यो षडयन्त्र थाहा पायो । काग मार्ने घोषणा भएकै दिन शिकारीहरु काग मार्न हिँडे तर जम्मा एउटा मात्र काग मार्न सके । त्यो वर्ष राज्यले त्यही एउटा कागभन्दा बढी मार्न सकेनन् ।

एउटा काग मरेको हल्ला काग समुदायमा यति छिटो फैलियो कि सबै कागहरु त्यहाँबाट भागे । ६ लाख कागमा जम्मा एउटाको मात्र मृत्यु भयो ।

बाठो नं ५
काउन्टर र इन्काउन्टरको योजना

धेरैलाई योजनामा खासै चाख हुँदैन किनकी योजना बनाएपछि काम गर्नुपर्छ । मानिसमात्र नभएर प्रायः जनावरले योजना बनाउँछन् तर यी सबैमा काग अगाडि छ । काग अवसरवादी चरा हो । कागले कुनै कुरा खानेकुरा खाइरहेको छ भने उसले जहिले पनि अर्को कागबाट लुकाउँछ ।
यदि अरु कसैले देखेको वा हेरेको थाहा पायो भने यसले आफूसँग केही नभएको अभिनय गर्छ । अझ उसले खानेकुरा आफ्ना खुट्टातिर लुकाएको नाटक गर्छ तर वास्तविकतामा उसले खानेकुरा आफ्नो छातीमुनि लुकाएको हुन्छ । जब काग खानेकुरा बोकेर उड्छ तब अर्को हेरिरहेको काग उसलाई पछ्याउन थाल्छ । उसलाई थाहा हुन्छ कहिलेकाहीं बाठो हुँदा बल्ड्यांग खानसक्छ । यसले काउन्टर र इन्काउन्टरको स्थिति पैदा गर्छ । (स्रोतः क्रायक्ड)

प्रतिक्रिया दिनुहोस