देशभरका बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल (फोटो फिचर)

बुधबार, १४ कार्तिक २०७५, १६ : ३७
देशभरका बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल (फोटो फिचर)

चितवन । देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइएको छ । सरकारले भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज देशभरका बालबालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइएको हो । 
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम भोलिसम्म हुनेछ । आज बिहानै १० बजेबाट ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइएको भरतपुर १२ की स्वास्थ्य स्वयम्सेविका यानुमाया भट्टराईले जानकारी दिनुभयो । उनका अनुसार कोही बालबालिका भिटामिन ‘ए’ क्याप्सुल खानबाट नछुटून भन्ने उद्देश्यले काम गरिएको बताउनुभयो । 
भरतपुर महानगरपालिकामा आज र भोलि गरी झन्डै ३० हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य लिइएको छ । भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठले भरतपुर महानगरमा पहिलो दिन ६० प्रतिशतको हाराहारीमा बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको बताउनुभयो । उहाँले दुई दिनमा भरतपुर महानगरमा २९ हजार ९५२ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने कार्यक्रम रहेको बताउनुभयो । 
भिटामिन ‘ए’ क्याप्सुल खुवाउन देशभरका सबै स्थानीय तहका वडा स्तरमा नै महिला स्वास्थ्य स्वयम्सेविकालाई खटाइएको छ । देशभरका २३ लाख ५६ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने सरकारको लक्ष्य छ । भिटामिन ‘ए’ क्याप्सुल खुवाउन देशभर ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयम्सेविका खटिएका छन् । बाल मृत्युदरलाई रोक्न सरकारले २०५० सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ । 

 

प्रतिक्रिया दिनुहोस