भारतीय पर्यटकको रोजाइमा मनकामना : नरेन्द्र मोदी आएपछि आउन मन लाग्यो

मंगलबार, १३ कार्तिक २०७५, १४ : १७
भारतीय पर्यटकको रोजाइमा मनकामना : नरेन्द्र मोदी आएपछि आउन मन लाग्यो

चितवन । सरोजकुमार हवल्दार भारतको कोलकताका बासिन्दा हुन् । पहिलो पटक नेपाल आउनुभएको सरोजकुमारले गोर्खाको मनकामना मन्दिरमा दर्शन गरी वरपरका सुन्दर ठाउँहरुको घुमफिरसमेत गर्नुभयो । मनकामनाको दर्शनपछि उहाँले भन्नुभयो, ‘मन्दिर आएपछि पूजा पाठ त गरियो नै, वपरपरका सुन्दर ठाउँहरु घुमफिर समेत भयो ।’  
उनीमात्र होइन, पछिल्लो समय केबलकार चढेर दर्शन गर्ने भारतीय पर्यटकहरु बढेको छन् । सरोज भन्नुहुन्छ, ‘भारतबाट धेरै दर्शनार्थीहरु मनकामना आइरहेका छन्, म त पहिलो पटक आएँ । कोलकता गएपछि अन्य साथीहरुलाई समेत फेरि लिएर आउँछु । जति घुम्यो त्यति घुम्न मन लाग्ने कस्तो रमाइलो ठाउँ रहेछ ।’
भारतको हवडादेखि मनकामना घुम्न आएकी पीयाली पाइनलाई नेपाल एकदमै मन पर्छ । उहाँ भन्नुहुन्छ्, ‘नेपाल त अति राम्रो छ, त्यसमा झन मनकामना मन्दिर त भन्नै परेन, आहा ! कति सुन्दर । उनी भारत र नेपालमा थोरै मात्र भिन्नता रहेको बताउनुभयो । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएदेखि नै उहाँलाई नेपाल आउन मन लागेको थियो । नेपालको बारेमा पत्रपत्रिका, टेलिभिजनहरुमा थाहा पाएको भएपनि अहिले नेपाल घुम्न पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ । 

नेपाल आउने भारतीय पर्यटकहरुको रोजाइमा मनकामना मन्दिर पर्ने गरेको मनकामना दर्शन प्रालिले जनाएको छ । मनकामना मन्दिरको दर्शनसँगै केवलकारको यात्रा गर्न पाउने हुँदा भारतीय पर्यटकलगायत देशविदेशका पर्यटकहरु मनकामनालाई उचित गन्तव्य बनाइरहेका छन् । वर्सेनि भारतीय पर्यटकहरुको संख्या बढिरहेको मनकामना प्रालिले जनाएको छ ।  
मनकामना दर्शन गर्न आउनेमा २१ प्रतिशत भारतीय पर्यटक रहेका छन् । मनकामना केवलकार तथ्याङ्कअनुसार बार्षिक १ प्रतिशतका दरले भारतीय पर्यटक बढ्दै गइरहेका छन् । 
मनकामना दर्शन प्रालिले दर्शनार्थीहरुलाई सेवा थप छिटोछरितो बनाउन मनकामना केवलकारमा ३ वटा डब्बा थप गरिएको छ । यसअघि ३१ वटा डब्बा सञ्चालन हुँदै आइरहेको केवलकारमा ३ वटा थप गरिएको हो । अब दैनिक १ हजार जानलाई सेवा प्रदान हुनेछ । यस केवुलकारको क्षमता ६०० यात्रु प्रतिघण्टा छ । यसको एकतर्फी कुल लम्वाई ३.०१ किमि रहेको छ । 

३ वटा डब्बा थप भएपछि वार्षिक १५ लाख यात्रुलाई सेवा दिनेछ । वि.सं.२०५५ सालदेखि सञ्चालनमा आएको केवलकारले असोज मसान्तसम्म १ करोड ३८ लाख १२ हजार ४८६ यात्रुहरुलाई सेवा दिएको मनकामना केवलकारले जनाएको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको नेपालकै पहिलो केबलकार मनकामना केबलकार १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्न सकिन्छ । केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । 

प्रतिक्रिया दिनुहोस