वाम गठबन्धनको घोषणापत्र आज

पत्रपत्रिकाबाट

मंगलबार, २१ कार्तिक २०७४, ०७ : ३६
वाम गठबन्धनको घोषणापत्र आज

काठमाडौँ । वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने भएको छ ।
घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफै बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजन जनमा सेयरजस्ता नारालाई समावेश गरेको बताइएको छ । आगामी दश वर्षभित्र २० हजार मेगावाट विद्युत्, आगामी पाँच वर्षभित्र दुई हजार ३५० किमि रेलमार्ग निर्माण तथा अन्य भौतिक पूर्वाधारको विकास र विस्तारमा वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको घोषणापत्रमा समावेश छ ।
पाँच वर्षभित्र मुलुकको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिने परिवर्तनका सपनालाई घोषणापत्रमा समावेश गरिएको छ । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले मङ्गलबार वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।

गठबन्धनलाई भोट किन भन्दै कम्युनिस्ट पार्टीबाहेक देशका अन्य कुनै पनि पार्टीले राष्ट्र एवम् जनताको सच्चा हितको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गरिएको छ । घोषणापत्रमा नेपाल राष्ट्रको पुनःनिर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्व नेपाली कम्युनिस्टले मात्र गर्न सक्ने विषयलाई प्राथमिकतामा राखिएको छ । गोरखापत्रबाट

 

प्रतिक्रिया दिनुहोस