यस्तो छ चितवनका नगर प्रमुखहरुको दसैँ

कोही जन्मथलो पुग्ने, कोही परिवारसँग बसेर रिफ्रेस हुने

विहीबार, ०१ कार्तिक २०७५, ११ : ५०
कोही जन्मथलो पुग्ने, कोही परिवारसँग बसेर रिफ्रेस हुने

चितवन । राष्ट्रिय चाडसमेत मनिने दसैँलाई बडा दसैँ पनि भनिन्छ । हिन्दु धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान टीका प्रसाद ग्रहण गरी दसैँ मानिन्छ । 
आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ । 
आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ, भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

चितवनमा सात स्थानीय तहका नगर प्रमुखको दसैँ :

रेनु दाहाल   (भरतपुर महानगरपालिका, प्रमुख) 

टीका छैन, परिवारसँग बसेर रिफ्रेस हुन्छु

यस वर्ष म टीका लगाउँदिन । गतवर्ष मंसिरमा भाई प्रकाश दाहालको दुःखद् निधन भएको हुँनाले अझै पनि हाम्रो परिवार शोकमा छ । फूलपातीको दिन असोज ३० गते नै म काठमाडौँ आइसकेको छु । म दशैं अवधिभर बुबाआमा (प्रचण्ड र सीता) सँगै काठमाडौँमै बस्छु । 
अरु बेला सधैँजसो जनताको काममा, महानगरको विकासका बारेमा सोच्दासोच्दै ब्यस्त भइन्छ । त्यसैले चाडपर्वको फुर्सदमा टीका नभए पनि परिवारसँग बसेर रिफ्रेस हुन्छु । 
बुबा प्रचण्डसँग बसेर भरतपुर महानगरमा गर्नु पर्ने काम, विकास निर्माणका बारेमा बिस्तृत रुपमा छलफल गर्ने योजना बनाएको छु । दसैँ अवधिभर भरतपुर महानगरको कसरी विकास गर्ने भन्ने विषयमा सोच्नेछु । देशकै नमुना महानगर बनाउन नयाँ सोच र सफल गुरुयोजना लिएर दसैँपछि भरतपुर महानगर आउनेछु ।  

नारायण वन (रत्ननगर नगरपालिका, प्रमुख) 

९० वर्षको आमाबाट टीका थाप्छु

यस वर्षको दसैँ म रत्ननगर नगरपालिकाको वडा नं ४ निवासमै मनाउनेछु । मसहित हामी ४ भाइ र हाम्रा सन्तान सबैले ९० वर्ष पुग्नुभएको आमाको हातबाट टीका थापेर अनि आशीर्वाद लिएर यस वर्षको दसैँ मनाइन्छ । 
मेरो ससुराली बागलुङ हो । टाढा छ, सायत गइँदैन होला । भोलि टीकाको दिन बिहानैदेखि साँझसम्म टीकाग्रहणमै समय बित्छ । हाम्रो खलक ठूलो छ, झन्डै २०० परिवारका सदस्यहरु टीका ग्रहण कार्यक्रमहरुमा सरिक हुन्छन् । आमा, दाजुभाइ सबै इष्टमित्रहरु परिवारमा भेला भएर शुभकामना साटासाट गरी आशीर्वाद लिएर मीठोमसिनो खाएर धुमधामले दसैँ मनाउने विचार गरेको छु । कतै घुमफिरको योजना बनाएको छैन । अस्ति परिवारसहित बारा गढीमाइको दर्शन गरेर आइयो, अब दसैँ सकिएपछि नगरको विकासमा, जनताको काममा लाग्नेछु । सायद आइतबारबाट म नगरका गतिविधिमा सरिक हुनेछु । 

लालमणि चौधरी (खैरहनी नगरपालिका, प्रमुख) 

घरमै कुलदेवताको पूजा गर्छु

म थारु समुदायको मान्छे हो । थारु समुदायमा अझै दसैँको टीका छिरेको छैन भन्दा पनि हुन्छ । देखासिकी गरेर कतैकतै थारु परिवारका सदस्यहरुले पनि दसैँको टीका लगाउँछन्, तर दसैँ अन्य समुदायहरुले जस्तो धुमधामले मनाउँदैनौँ । 
म पनि थारु समुदायको एउटा सदस्य भएकाले मेरो निधारमा दसैँको टीका पर्दैन । टीकाको दिन घरमै घरमुलीबाट कुलदेवतामा पूजा गरिन्छ, तर टीकाटालो हुँदैन । म पनि कुलदेवताको पूजा गर्छु । 
दसैँको दिन चौधरी समुदायले गाउँको बह्मस्थानी मन्दिरमा गएर पूजा गर्छन् । म पनि दसैँको दिन त्यो पूजामा सरिक हुनेछु । प्रत्येक घरमा कुलदेवतालाई पूजा गर्दा परेवा चडाउँछन् । त्यही परेवाको मासु खाइन्छ । यसरी नै दसैँ सकिन्छ, आइतबारबाट नगरको काममा भिड्न परिहाल्छ । दुई दिन भए पनि नगरको कामको थकानबाट विश्राम मिलेको छ ।

प्रभा बराल (राप्ती नगरपालिका, प्रमुख) 

‘भेटघाट र खुसीयाली साटेर दसैँ मनाउँछु’ 
यस वर्षको दसैँ राप्ती ७ वीरेन्द्रनगरस्थित घरमै मनाउँछु । म मेरी दिदी सीता पौडेलको हातबाट टीका ग्रहण गर्छु । दसैँको टीकाको दिन आफन्त, नातागोता परिवारसँग बसेर खुसीयाली साटासाट गरेर गरिन्छ । 
मेरा आफन्त इष्टमित्र पोखरा पनि भएको हुनाले टीकाको दिन ​साँझ पोखरा जाने सम्भावना पनि छ । पोखरा गइयो भन एकदुई दिन उता भुल्न सक्छु । गइएन भने नगरको विकासको बारेमा नगरवासीलाई भेटघाट गरेर थप योजनाहरु बनाउनेछु । आइतबारबाट नगरको काममा गइन्छ । हाम्रो खलक ठूलो छ, भाञ्जाभाञ्जी आउँछन्, पाहुनाहरु पनि आउँछन् । उनीहरुलाई टीका लगाएर आशीर्वाद दिन्छु । 

गोपी श्रेष्ठ  ‘खोमनारायण’  (कालिका नगरपालिका, प्रमुख)

स्वतन्त्र, तनावमुक्त भएर दसैँ मनाउँछु’​

यस वर्षका मेरो दसैँ कालिका नगरपालिका वडा नं ९ नयाँ टाँडी घरमै सम्पन्न हुन्छ । दसैँमा कतै घुमघामको योजना छैन । परिवारसँग भेटघाट गर्ने, टीका ग्रहण गर्ने आशीर्वाद लिने दिने गरेर दसैँ मनाउँछु । सधैँ नगरको कामको दौडधूप भइरहन्छ । 
यो दसैँको दुईतीन दिन कामको थकानबाट मुक्त भएर दसैँ मनाउने विचार गरेको छु । हाम्रो श्रेष्ठ खलक ठूलै छ, सबैजना आउँछन् । आएकाहरुलाई टीका ग्रहण गरिन्छ । म बुबाआमाको हातबाट टीका थाप्छु । आइतबारदेखि नगरको काममा जुट्न पर्ने भएको हुनाले यो दुईतीन दिन एकदम स्वतन्त्र भएर तनावमुक्त भएर दसैँ मनाउनेछु । 

ठाकुर ढकाल  (माडी नगरपालिका प्रमुख) 

भरतपुरमा हुन्छ मेरो दसैँ

मेरो यस वर्षको दसैँ भरतपुर महानगरपालिका वडा नं ७ मा हुन्छ । घरमै परिवार इष्टमित्र भेला भएर खुसीयाली साटेर यस वर्षको दसैँ मनाउने विचारमा छु । आइतबारदेखि फेरि माडी नगरपालिकाको काममा लाग्न पर्छ । खुसीयाली साटेर दाजुभाइहरु भेला भएर नै दसैँ मनाउनेछु ।
कतै घुमफिर तथा यात्राको योजना बनाएको छैन । दसैँले नगरको कामको थकानबाट विश्राम मिलेको छ । तर पनि दसैँ नै भए पनि नगरलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चिन्तित भइरहेकै छु । 

गीता गुरुङ (इच्छाकामना गाउँपालिका प्रमुख) 

जन्मथलो गएर दसैँ मनाउँछु 

म यस पटकको दसैँ आफू जन्मेको ठाउँमा गएर दसैँ मनाउने विचार गरेकी छु । म इच्छाकामना गाउँपालिका वडा नं ३ ढापमा जन्मेको हो । त्यही जन्मथलोमा पुगेर म दसैँ मनाउँछु । 
म ७६ वर्ष पुग्नुभएका बुबा रामबहादुर गुरुङ, ७२ वर्ष हुनुभएको आमा हितमाया गुरुङको हातबाट टीका थाप्नेछु । गुरुङ समुदायमा जन्मेकी छोरी भए पनि म बालबच्चादेखि दसैँ मनाउँदै आएको छु । इच्छाकामनाका सम्पूर्ण गुरुङ समुदायहरुले दसैँ मनाउँछन् । यस पटक त जन्मथलो नजिकै रहनुभएका मामामाइजुको हातबाट पनि टीका थाप्ने योजना पनि छ । झन्डै एक सय आफन्त परिवारलाई भेटघाट गरी खुसीयाली साटेर दसैँ मनाउँछु । मैले गाउँपालिकाका कर्मचारी वडाध्यक्ष सबैलाई तीन दिनसम्म दसैँ मनाउनु त्यसपछि काममा आउनु भनेको छु ।

प्रतिक्रिया दिनुहोस