कुन नेताले कसरी मनाउँदैछन् दसैँ ?

सफल खबर संवाददाता

मंगलबार, ३० असोज २०७५, १२ : ३१
कुन नेताले कसरी मनाउँदैछन् दसैँ ?

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुको महान चाड दसैँको रौनक घरआँगनमा दखिन सुरु भइसकेको छ । आफन्तजन सबै एक ठाउँमा जम्मा भएर मिठो परिकारको स्वाद लिँदै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद थापेर दशैँ पर्व धुमधामले मनाउने सुरसार देखिएको छ ।
दशैँ हिन्दु नेपालीहरुको महान चाड भए पनि पछिल्लो समय क्रान्तिकारी नेताहरुलेसमेत दसैँ मनाउन थालेका छन् । नेताहरुले कसरी मनाउँछन् त दसैँ ?

केपी शर्मा ओली
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दशैँमा प्रधानमन्त्री निवास बालुवाटारमा नै मनाउने भएका छन् । कार्यकर्ता, शुभेच्छुकलाई टीका लगाएर प्रधानमन्त्री ओली दसैँ मनाउने प्रधानमन्त्री सचिवालयले जनाएको छ । नवमीको दिन प्रधानमन्त्री ओली झापा पुग्ने छन् ।  

पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को यसवर्ष दसैँ हुँदैन । छोरा प्रकाश दाहाल बितेको एक वर्ष नपुगेका हुनाले उनको यस वर्ष टीका नभएको हो । उनले कार्यकर्ता भेटघाटका साथै शुभकामना आदान प्रदान गनेछन। 

शेरबहादुर देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदा झै यसपाली काठमाडौँको बुढानिलकण्ठस्थित निवासमा दशैँ मनाउने योजना बनाएका छन् । दशैँमा कार्यकर्ता र विभिन्न आफन्तजनलाई टीका लगाइदिने कार्यक्रम रहेको देउवाको सचिवालयले जनाएको छ ।

माधवकुमार नेपाल
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नेपालले काठमाडौँमा दशैँ मनाउने भएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट तथा शुभकामना आदान प्रदान पनि गर्ने घरमा आएका इष्टमित्रहरुलाई टीका लगाएर दसैँ मनाउने उनको योजना छ ।
  
रामचन्द्र पौडेल 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि दसैँ छैन । उनका नारायणगढ निवासी जेठा ज्वाइँ बितेकाले दशैँमा टीका रोकिएको हो । उनी भारतको बद्रीकेदार तीर्थस्थल जाने सुरसारमा छन् । ​

झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनाल यसवर्ष दसैँमा टीका लगाउन गृह जिल्ला इलाम नजाने भएका छन् । दशैँ काठमाडौँमै आफन्तलाई घरमा बेलार टीका लगाएर दसैँ मनाउने भएका छन् । भ्याएसम्म काठमाडौँका रमाइला ठाउँहरु घुम्ने योजनासमेत बनाएका छन् । 

शशांक कोइराला
कांग्रेस महामन्त्री शंशाक कोइरालाले दसैँ काठमाडौँमा बसेर मनाउने भएका छन् । उनी दाजु प्रकाश कोइराला कहाँ गएर टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ । कोइराला परिवारका सबै जनाले दाजु प्रकाश कोइरालाको घरमा टीका ग्रहण गर्ने कार्यक्रममा रहेको छ । 

नारायणकाजी श्रेष्ठ 
नेकपाका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले यसपलिको दशैँ विभिन्न जिल्लाका नेता कार्यकर्तालाई भेटघाट गरी दसैँ मनाउने भएका छन् । उनी चितवन, गोरखा र बर्दिवासमा नेता कार्यकर्तासँग दशैँको शुभकामना आदानप्रदानका क्रममा हिँड्ने छन् । 

विश्वप्रकाश शर्मा
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग शुभकामना आदान प्रदान गरेर दसैँ मनाउने भएका छन् । यसपालिको दशैँलाई उनले त्यहाँका नेता कार्यकर्ताका बीच शुभकामना आदान प्रदान तथा टीका ग्रहण गरेर बिदाई गर्ने सोच बनाएका छन् । 

ईश्वर पोखरेल
रक्षामन्त्री ईश्वर पोखरेल यस वर्षको दसैँ काठमाडौँ घरमा मनाउने भएका छन् । परिवारका सदस्यहरु, इष्टमित्रहरुलाई घरमा बोलोर दसैँ मनाउने सुरसार गरेका छन् । 

प्रतिक्रिया दिनुहोस