‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

सफल खबर संवाददाता

बुधबार, ०५ भदौ २०८१, १० : २२
‘ड्रागनफ्रुट’ खेतीप्रति इलामका किसान आकर्षित

इलाम । पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षण बढ्दै गएको छ । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन् । 

जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन् । एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर रु आठ लाख र बिरुवा बिक्रीबाट रु चार लाख आम्दानी गरे । “गत वर्षसम्म फल र बिरुवाबाट रु १२ लाख आम्दानी गरेको थिएँ”, उनले भने, “यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु ।”

उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गर्नुभएका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । उनले उत्पादन गरेको ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन । व्यापारीहरु बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उनले उत्पादन गरेको ड्रागनफ्रुट झापाको दमकमा खपत हुने गरेको छ ।

“उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्”, उनले भने “बगानबाट प्रतिकलोग्राम रु दुई सयदेखि रु तीन सय सम्ममा बिक्री हुने गरेको छ ।” उनले उत्पादन गरेको बिरुवा भने गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेका छन् । बिरुवा सरकारी मूल्यअनुसार प्रतिगोटा रु एक सयका दरले बिक्री हुने गरेको उनले बताए। उनले सुरुमा परीक्षणका लागि केही बिरुवा रोपेका थिए। त्यसबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी परम्परागत खेतीलाई विस्थापन गरी व्यावसायिक रुपमा ड्रागनफ्रट खेती सुरु गरेका हुन् । अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ । आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको बताए ।  

राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन् । उनले छ कठ्ठा जमिन भाडामा लिएर चार सय बोट ड्रागनफ्रुट रोपेका छन् । उनले लगाएका सबै बोटबाट उत्पादन हुन थालेका छन् । ‘छथरे ड्रागनफ्रट कृषि फार्म’ दर्ता गरी व्यावसायिक ड्रागनफ्रुट खेती सुरु गरेका हुन् । “मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक रु दुई लाख ५० हजार आम्दानी गर्दै आएको छु”, उनले भने, “अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुनेरहेछ ।”

प्रतिक्रिया दिनुहोस