छयहत्तर प्रतिशत बलात्कार आफन्तबाटै : आइजीपी खनाल

सुरेन कुँवर

विहीबार, १८ असोज २०७५, १४ : १५
छयहत्तर प्रतिशत बलात्कार आफन्तबाटै : आइजीपी खनाल

चितवन । नेपाल प्रहरीको एक तथ्यांक अनुसार ७६ प्रतिशत बलात्कार तथा यौनहिंसाका घटना आफन्तबाटै हुने गरेको पाइएको छ । नेपाल प्रहरीले महिला सेल र प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयले बुधबार चितवनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले नचिनेका मानिसबाट जम्मा २४ प्रतिशत महिला तथा बालबालिका यौनहिंसामा पर्ने गरेको बताउनु भयो । ‘हिंसाको कारक तत्वमा लागूऔषध, मदिरा हुन्’ उहाँले भन्नुभयो, ‘गत वर्ष करिब ४३ हजार जना मदिरा सेवन गरेकाहरु कारबाहीमा परेका छन् । हिंसात्मक घटनालाई मदिराले बढावा दिएको छ ।’
पछिल्लो समय देशका विभिन्न भागमा बलात्कार तथा यौनहिंसाका घटना सार्वजनिक हुने क्रममा वृद्धि हँुदै गएपछि नेपाल प्रहरीले सचेतना फैलाउन देशका ३६ हजारभन्दा बढी विद्यालयमा अभियान संचालन गर्ने भएको छ । आफ्नै नजिकका व्यक्तिहरुबाटै जबरजस्ती करणीका घटनाहरु भइरहेको निष्कर्षमा पुगेको प्रहरीले घरघरमा अभियान संचालन गरेर हिंसा न्यूनीकरण हुने जनाएको छ ।
नेपाल प्रहरीले गरेको सर्वेक्षण अनुसार नेपालका १६ देखि २५ बर्ष उमेर समूहका १५ लाख ६ सय युवा दुव्र्यवसनमा फँसेका छन् । आइजीपी खनालले लागुऔषध सेवनकर्ताले भारतबाट आयात गरेर यसको सेवन गर्ने गरेका छन् । भारतसँग जोडिएको १ हजार ८ सय माईल खुल्ला सिमानाका कारण पनि यसको नियन्त्रण गर्न कठिनाई भइरहेको उहाँले बताउनु भयो ।
‘लागूऔषधको जालोलाई भत्काउनै पर्छ’ खनालले भन्नुभयो, ‘यसका लागि हामी दृढताका साथ लागेका छौँ । लागूऔषध कारोबारको सञ्जाललाई भत्काउँदै जानुपर्छ ।’ नेपाल प्रहरीको सकृयाताको कारण ठुलो परिमाणको लागूऔषध बरामद हुनुका साथै त्यसको ओसारपसारमा संलग्न व्यक्तिहरु पक्राउ परेको उहाँले बताउनु भयो । ‘अघिल्लो वर्ष पक्राउ परेको संख्या बराबर अहिलेको ४ महिनाभित्र पक्राउ गरेका छन् । यो लागूऔषध सेवनकर्ताको संख्या वृद्धि नभएर प्रहरीको सकृयताको कारण पक्राउ गर्न सफल भएका छौँ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस