झण्डा र ब्यानर प्रयोग गरे कानुनी कारबाही गर्ने नितेश समूहलाई युवा संघको चेतावनी

सफल खबर संवाददाता

मंगलबार, २९ जेठ २०८१, १६ : ३५
झण्डा र ब्यानर प्रयोग गरे कानुनी कारबाही गर्ने नितेश समूहलाई युवा संघको चेतावनी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका संयोजक कृष्णकुमार विकले युवा संघ नेपाल विभाजन नभएको दाबी गरेका छन् ।केही व्यक्तिले युवा संघ भनेर संगठनको झण्डा र ब्यानर प्रयोग गर्दै युवासंघ विभाजन भएको भनेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको पनि संयोजक विकको भनाइ छ ।

‘कोही पनि भ्रममा पर्न जरुरी छैन, युवा संघ फुटेको छैन युवा संघ एकढिक्का छ’, मंगलबार पत्रकार सम्मेलन गर्दै संयोजक विकले भने, ‘नितेश पौडेल, रोशन थापा र फुर्वा लामाहरू कारबाहीमा परिसक्नुभएको छ ।’उनले कसैले संगठनको झण्डा र ब्यानर प्रयोग गरे कानुनी कारबाही गर्ने चेतावनी समेत दिए । 

पार्टीको १० राष्ट्रिय महाधिवेशनको संघारमा युवा संघ नेपालका सहसंयोजक नितेश पौडेल, कार्यालय सदस्य रोशन थापा र फुर्वा लामा लगायतले संयोजक विकले निर्धारित समयमा अधिवेशन गर्न नसकेको भन्दै केही दिनअघि समानान्तर संगठन घोषणा गरेका थिए । 

उनीहरूलाई संयोजक विकले आइतबार नै कारबाही गरेको घोषणा गरेका थिए ।  पौडेल, थापा र लामाहरुले पार्टीको महाधिवेशनमा लाग्नुपर्नेमा घटनाक्रमलाई उत्तेजित पार्ने गतिविधि गरेको उनले बताए । 

‘युवा संघ  विभाजन भयो, दुई टुक्रा भयो भनेर प्रचार भएको छ यसमा निन्दा गर्न चाहन्छु’, संयोजक विकले पौडेल, थापा र लामालाई कारबाही गरेको विषय पार्टीलाई समेत जानकारी गराइसकेको बताएका छन् । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन् ।

प्रतिक्रिया दिनुहोस