म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको हो ।
वडा कार्यालयको ‘कृषि प्रवद्र्धन’ वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत ३८ कृषकलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए । वडा कार्यालयले माग गरेका कृषक र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको उनले बताए ।
४० हजार मूल्यका हाते ट्र्याक्टरमा कृषक र गाउँपालिकाले २०/२० हजारको दरले साझेदारी भएको हो । छिट्टै व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकलाई प्लाष्टिक टनेलसमेत अनुदानमा वितरण गर्ने योजना रहेको उनले बताए ।
यस वर्ष कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत आठ लाख ५० हजारमा ३८ कृषकलाई हाते ट्र्याक्टर र २५ कृषकलाई प्लाष्टिक टनेलमा ५० प्रतिशतको दरले अनुदान दिएको वडा कार्यालयले जनाएको छ ।
गाउँघरमा गोरु पाल्ने चलन हराएर जान थालेको र खेतबारी जोत्न समस्या भएको अवस्थामा वडा कार्यालयले अनुदानमा हाते ट्र्याक्टर दिएपछि राहत मिलेको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका कृषक सुरतबहादुर चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, ०७ : ०९
लेखकबाट थप