दुई समूहबीच झडपहुँदा रौतहटमा २३ राउण्ड हवाई फायर, प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते

बुधबार, १० असोज २०७५, १९ : ०३
दुई समूहबीच झडपहुँदा रौतहटमा २३ राउण्ड हवाई फायर, प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते

रौतहट । रौतहटको गरुडा नगरपालिकामा दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएको छ । 
गरुडा नगरपालिका–९ श्रीपुरस्थित एक घाटमा शव जलाउने विषयमा भएको विवादले उग्र रुप लिँदा तनाव उत्पन्न भएको हो । 
श्रीपुर र गमहरियाबीच विवादित स्थानमा एक समूहले गरुडा–९ का ६५ वर्षीय रामपृत शहनीको शव जलाउन खोज्दा बुधवार दिउँसो दुुई समूहबीच झडप भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक चतुर्भुज ओझाले जानकारी दिए ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गर्नुका साथै ३२ राउण्ड अश्रुुग्यास प्रहार गर्नुुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले बताए । झडपको क्रममा प्रहरीतर्फ प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते भएका छन् भने सोही अनुपातमा स्थानीय पनि घाइते भएका छन् ।  विवादित उक्त स्थानमा शव जलाउन नहुने सहमति विपरित एक समूहले बलपुर्वक शव जलाउन खोज्ने र रोक्न जाने प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडपले उग्ररुप लिएको एसपी ढकालले बताए ।

सयौंको संख्यामा शव जलाउने समूह र त्यतिकै संख्यामा जलाउन नदिने समूह एकैपटक बाँसका लाठी भाठासहीत ढुंगामुढा बर्षाउन थालेपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

एकसाता अघिमात्रै सोही स्थानमा एक समूहले बलपूर्वक शव जलाउन खोज्दा दोहरो झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस