क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्छु : सभामुख महरा

सुरेन कुँवर

बुधबार, १० असोज २०७५, १४ : ४९
क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्छु : सभामुख महरा

चितवन : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १९ औं बार्षिकोत्सव तथा १४ औं क्यान्सर सतर्कता दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले एसियाको मोडेल अस्पतालको रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । क्यान्सरको उपचार, अनुसन्धान र पठनपाठनलाई प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय पहिचान दिनुपर्ने उहाँको भनाई थियो ।

अस्पतालको विकासका लागि आवश्यक प्रविधिक, आर्थिक र दक्ष जनशक्ति उत्पादनमा कन्जुस्याईं नगर्न उहाँले सरकारलाई आग्रह गर्नुभयो । ‘यसलाई थप व्यवस्थित गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘अस्पतालमाथि राज्यको ध्यान योभन्दा माथि हुनुपर्छ । यो विषयमा सरकारसँग विषेश पहल गर्छु ।’

सभामुख महराले बालिकामाथि भइरहेको बलत्कार र हत्या बारेमा संसद असाध्यै सतर्क रहेको जानकारी दिनुभयो । उहाँले संसद बैठकमा यस विषयमा सरकारलाई गहिरो ध्यानाकर्षण गराउने बताउनु भयो । उहाँले पछिल्लो समय देशमा देखिएका विकृति, विसंगतिमाथि सत्तापक्ष वा प्रतिपक्षबाट विरोधका आवाजहरु आइरहेकाले राष्ट्रिय संकटलाई माथि उठेर हल गर्न सरकारलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बीपी पुत्र एवं नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई एसियाकै नम्बर एक क्यान्सर अस्पताल बनाउनुपर्ने धारणा राख्नुभयो । अस्पताललाई नमुना अस्पताल बनाउन विश्वविद्यालयका रुपमा विकास गर्नुपर्ने कोइरालाको भनाई थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले क्यान्सर अस्पतालको विकासका निम्ति महानगरले गर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उहाँले क्यान्सर अस्पताललाई देशकै गौरव गर्ने अस्पताल बनाउन सबै राजनीतिक दलहरु जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको एक बर्षको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । आचार्यले अस्पतालाई सरकारले दिने अनुदानमा वृद्धि नगरिए सहज रुपमा क्यान्सरका रोगीलाई सेवा दिन नसकिने जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस