केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवक पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, ११ : २२
केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवक पक्राउ

नयाँ दिल्ली । दिल्ली मेट्रोको स्टेसन र रेलभित्र  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पिट्ने धम्कीसहितको म्यासेज लेख्ने युवकलाई प्रहरीले समातेको छ । युवकले सो म्यासेज लेखिरहेको बेलाको दृश्य सीसीटीभी कैद भएको छ ।

प्रहरीका अनुसार आरोपी बरेलीबाट ग्रेटर नोएडामा घरको दर्ता गराउन आएका थिए । अङ्कित गोयल नाम गरेका ती युवकको उमेर ३२ वर्ष भएको बताइएको छ । दिल्ली मेट्रोबाट यात्रा गर्दाखेरि उनले केजरीवालको नाममा धम्कीपूर्ण म्यासेज लेखेका थिए । युवक चर्चित बैङ्कका कर्मचारी भएको बताइएको छ ।

उनी कुनै राजनीतिक दलसँग पनि नजोडिएको बताइएको छ । उनको मानसिक हालत ठिक नभएको हुन सक्ने अनुमान गरिएको छ । यसको पुष्टि गर्न मेडिकल जाँच गराइने बताइएको छ । १९ मेमा पटेल नगर र राजीव चोक मेट्रो स्टेसन र अर्को एक ट्रेन कोचमा केजरीवालको नाममा अङ्ग्रेजीमा धम्कीपूर्ण सन्देश लेखिएको थियो ।

आम आदमी पार्टी (आप) ले पत्रकार सम्मेलन गर्दै भारतीय जनता पार्टी र प्रधानमन्त्री कार्यालयमाथि केजरीवालको हत्या गराउने षडयन्त्र रचेको आरोप लगाएको थियो । यस मामिलामा दिल्ली प्रहरीको मेट्रो युनिटले एफआईआर दायर गरेर छानबिन गरिरहेको छ । युवकको पहिचान सीटीटीभी फुटेजको आधारमा गरिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस