कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द

एजेन्सी

शुक्रबार, २८ बैशाख २०८१, १० : ४६
कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द

बैंकक । व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ । कोरलभित्र रहने लेउ बाहिर निकालिदिएपछि ब्लिचिङ हुन्छ । सामान्यतया समुद्रको सामान्य तापक्रमभन्दा धेरै र पराबैजनी विकिरणमा वृद्धिका कारण ब्लिचिङ हुन्छ । तापक्रम घटेपछि र समुद्रको अवस्था सामान्य हुँदा समयसँगै कोरलहरू ब्लिचिङबाट निको हुनसक्छन् ।

हालैका साताहरूमा घातक गर्मीका कारण थाइल्यान्ड र एसियामा तापक्रम बढेपछि टापु बन्द गरिएको हो । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डिएनपी) ले समुद्र पानीको तापक्रम बढेकाले फुकेटमा सिरिनर्ट राष्ट्रिय निकुञ्ज वरपर प्लिङ टापु र कोरल चट्टानहरूलाई अस्थायीरूपमा बन्द हुने बताएको छ ।

कोह चाङ, कोह समेट, चुम्फान, कोह सुरिन, फाङ नगा खाडी, फि फि टापु र लान्टाका राष्ट्रिय निकुञ्जहरूको पनि अनुगमन गरिरहेको विभागले बताएको छ । विश्वले अहिलेको समय १० वर्षमा दोस्रो ठूलो कोरल ब्लिचिङ घटनाको अनुभव गरिरहेको भन्दै युएस नेसनल ओसनिक एन्ड एट्मस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले गत महिना चेतावनी दिएपछि यो समाचार आएको हो । अस्ट्रेलियादेखि फ्लोरिडासम्म चट्टान प्रणाली महिनौँको कीर्तिमानी सामुद्रिक गर्मीपछि सङ्घर्ष गरिरहेको एनओएएले बताएको छ ।

सन् २०२३ मा दुई करोड ८० लाख पर्यटक आएका थाइल्यान्डका पार्कहरू आवधिकरूपमा बन्द हुन्छन् । धेरै पर्यटकहरू प्राचीन सामुद्रिक तटको आनन्द लिन आएका थिए ।

मानव–प्रेरित जलवायु परिवर्तनले थप लगातार, लामो र अधिक तीव्र गर्मीको लहर उत्पन्न गर्ने भन्दै वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको मौसम विज्ञान सङ्गठनका अनुसार अल निनोको घटनाले यस वर्षको असाधारण गर्मीको मौसमलाई ल्याउन सहयोग गरिरहेको छ । एसिया पनि विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातो भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस