पुरानो तरकारी बजारमा बहुउद्देश्यीय भवन बनाइने : मेयर रेनु दाहाल

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, ०७ असोज २०७५, १५ : ३९
पुरानो तरकारी बजारमा बहुउद्देश्यीय भवन बनाइने : मेयर रेनु दाहाल

चितवन । नारायणगढको पुरानो तरकारी बजारमा भरतपुर महानगरपालिकाले बहुउद्देश्यीय भवन बनाउने भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज नयाँ तरकारी तथा थोक बजारको उद्घाटन कार्यक्रममा पुरानो तरकारी बजारमा बहुतले अण्डरग्राउन्डसहितको बहुउद्देश्यीय भवन बनाउने बताउनुभयो । कार्यक्रममा उहाँले लायन्सचोकको तरकारी बजारले थेग्न नसक्ने भएर नै सारिएको उहाँको भनाइ थियो । 
कार्यक्रममा उहाँले जे काम गर्दा पनि विरोध आउने गरेकोमा गुनासो समेत गर्नुभएको थियो । कार्यक्रममा उहाँले भन्नुभयो, ‘म सबैसँग सहकार्य गर्न चाहेको छु, जनप्रतिनिधि, व्यवसायी राजनैतिक दलहरु सबैसँग सहकार्य गरेर अघि बढ्न म चाहिरहेको छु, तर एउटा कुरा जे काम गर्दा पनि विरोध आउनु ठीक होइन ।’ उहाँका अनुसार सिटी हल बनाउन खोज्दा पनि बिरोध भएको बताउनुभयो । ‘कि त विकल्प दिनुप¥यो, कि त बनाउन दिनुप¥यो’ उहाँले भन्नुभयो ।  
उहाँले भन्नुभयो, ‘सिटी हल बनाउनको लागि उपयुक्त ठाउँ क्यान्सर अस्पताल नै हो, तर कांग्रेसले लगातार विरोध जारी राख्यो, र हामीले विकल्पको खोजीमा गेष्ट हाउ चौर रोजेका हौँ ।’ उहाँले त्यहाँ पनि कताकता विरोध आइरहेको हुनाले विरोध गर्नेहरुले नै विकल्प दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले त अझ पनि क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउन चाहन्छु, तर विरोध आएपछि हामी विकल्प खोजेका हौँ । उहाँले क्रिकेट रंगशालाको कुरा पनि अगाडि बढेको र भनेको ठाउँमा क्रिकेट रंगशाला बन्ने बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस