सवारी सञ्चालनमा अवरोध गर्ने चालकलाई कारबाही गर्ने चेतावनी

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, ०४ असोज २०७५, १७ : ५८
सवारी सञ्चालनमा अवरोध गर्ने चालकलाई कारबाही गर्ने चेतावनी

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले हडताल बन्द गरी यातायात तत्काल सुरु गर्न बन्दकर्ता सवारी चालकहरुलाई आह्वान गरेको छ ।   
बिहीबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको संयोजकत्वमा राजनीतिक दल, यातायात व्यवसायीसँग आवद्ध संघसंस्था, सुरक्षा निकाय लगायतका अन्य सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा भरतपुरमा बसेको बैठकपछि प्रशासनले यस्तो आह्वान गरेको हो ।  
बैठकले यातायात सञ्चालन गर्न सबै सुरक्षा निकायको आपसी समन्वयमा सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ । बैठकले सवारी साधन सञ्चालनमा अवरोध सिर्जना गरेमा बन्दकर्ताहरुलाई कानूनी कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले भदौ १ गतेदेखि लागु हुने ऐनको सन्दर्भमा बन्दकर्ता तथा सवारी चालकहरुमा भ्रम पैदा भएकाले सवारी चालक, यातायात व्यवसायी, बार एसोसिएसन, सरकारी वकिल कार्यालय र जिल्ला ट्राफिक कार्यालयकोे आपसी समन्वयमा अन्तरक्रिया र सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस