सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ : मन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १४ : ५२
सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ :  मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले बनाउने नीति तथा कार्यक्रममा ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौँमा भएको हाइट्रोजन डाइलग कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री बस्नेतले नेपालमा ग्रिन अर्थतन्त्र र ग्रिन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रिन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । उनले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे । उनले विश्व लागि ग्रिन अर्थतन्त्रमा गइसकेको बताए ।

मन्त्री बस्नेतले नेपालसँग भएका पेट्रोलियम पदार्थ लगायत जलस्रोतको प्रयोग भन्दा पनि आयातमा रमाइरहेको बताए । उनले आफूसँग भएका स्रोतको सही ढङ्गले सदुपयोग गर्नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गरे ।

उनले भने,‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौँ । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौँ ।

स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रिन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ ।

अब सरकारले ग्रिन अर्थतन्त्र,ग्रिन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ । सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’मन्त्री बस्नेतले नेपाल ग्रिन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरू बनाएर जान आवश्यक देखिएको बताए । 

प्रतिक्रिया दिनुहोस