जनमत स्थिर संस्थाको पक्षमा छ, सबै मिलेर समझदारी बनाउनुपर्छ : पूर्वराजा शाह

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, २१ : ४२
जनमत स्थिर संस्थाको पक्षमा छ, सबै मिलेर समझदारी बनाउनुपर्छ :  पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्था प्रति ध्यान केन्द्रित हुनु पर्छ भन्ने जनमत रहेको दाबी गरेका छन् । त्यसका लागि देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर समझदारी बनाउनुपर्ने उनको भनाइ छ । ‘आफ्‌नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ ।

देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’ शुक्रबार नयाँ वर्ष २०८१ को अवसरमा देशबासीकलाई शुभकामना दिँदै उनले भनेका छन् । उनले नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको समेत बताएका छन् । ‘

आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्‌ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्‌ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन्’, उनले भनेका छन् । शाहले उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आसा जगाउन सक्नु पर्ने बताएका छन् । ‘तर हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्‌नै आशा आकाङ्क्षा र भरोसा खल्बलिदै गएको छ’, शाहको जिकिर छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको विषय भएको भन्दै उनले अब त्यो सबै कुराको पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्। शाहले २०८० सालमा वर्तमान व्यवस्थाविरुद्ध पटक पटक विज्ञप्तिमार्फत असन्तष्ट जनाएको थिए ।

 

 

प्रतिक्रिया दिनुहोस