सांसदका लागि कुर्सी जोहो गरिँदैः कसलाई कस्तो रङको कुर्सी ?

पत्रपत्रिकाबाट

सोमबार, २० कार्तिक २०७४, ०७ : ४०
सांसदका लागि कुर्सी जोहो गरिँदैः कसलाई कस्तो रङको कुर्सी ?

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने भएको छ ।

आम निर्वाचन नजिकिँदै गर्दा संसद् सचिवालयले संघीय संसदका दुवै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको हो । संविधानसभा र रूपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका सेता कुर्सीलाई हरियो बनाउने निर्णय भए पनि सबै कुर्सी फेर्ने कि मर्मत मात्रै गर्ने भन्ने टुंगो लागेको छैन ।

‘संविधानसभा र व्यवस्थापिका संसदको बैठकका लागि उपयोग गरिएको मुख्य हलमा प्रतिनिधिसभा र दुवै सदनको संयुक्त बैठक बस्न मिल्ने गरी पुन:संरचनाको तयारी गरेका छौं,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासअनुरूप तल्लो सदनको बैठक कक्षमा हरियो र माथिल्लो सदनमा रातो रङ प्रयोग गरिनेछ ।’

संविधानअनुसार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ र समानुपातिकबाट आउने ११० गरी २७५ सांसद हुनेछन् भने माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्य हुनेछन् । दुवै सदनको संयुक्त बैठक बस्न प्रतिनिधिसभा बैठक कक्षमा ३३४ कुर्सी आवश्यक पर्छ । सचिवालयले संविधानसभाका ६०१ सदस्यका लागि राखिएका कुर्सी हटाएर बैठक कक्षलाई छरितो पार्न खोजेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस