ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्नेबारे नयाँ नियम लागू

सफल खबर संवाददाता

शुक्रबार, २३ चैत्र २०८०, १६ : ४६
ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्नेबारे नयाँ नियम लागू

काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा आज सरोकारवालासँग छलफल गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको  छलफलमा पूर्ण समयमा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिमा भएका प्रावधानबारे काठमाडौँका सिडिओ जितेन्द्र बस्नेतले जनकारी गराएका थिए ।

जसअनुसार राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउन्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने छ । बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको छ । जसमा श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डास्न बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लब र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन पाइने छैन ।

कार्यविधिले सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गर्दै बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको छ । जसमा अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पुर्‍याउन तथा सुरक्षित रूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा प्रदर्शन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा असलिलता प्रदर्शन नहुने गरी स्वस्थ मनोरञ्जन दिने गरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ ।

श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पुर्‍याउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन–शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोसाक परिवर्तन गर्ने कोठामा सीसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ ।

व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । भने, नाबालिक तथा नाबालिकलाई सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस