जनताबाट अलग भइसकेपछि समाजवादी पार्टीहरूको बिजोग हुन्छ : माधव नेपाल

सफल खबर संवाददाता

मंगलबार, २० चैत्र २०८०, १६ : ४३
जनताबाट अलग भइसकेपछि समाजवादी पार्टीहरूको बिजोग हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताए।

अध्यक्ष नेपालले भने,‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ, धेरै टाढा जानै पर्दैन हाम्रो छिमेकी देश भारतको एउटा प्रान्त पश्चिम बंगाल । हिजो कसैले फर्केर हेर्न सक्दैनथ्यो त्यहाँ जितौँला भनेर । आज त्यहाँ कम्युनिस्ट पार्टी खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको छ । यो आत्मसमिक्षा गर्ने कुरा छ ।’

उनले समाजवादका ठुला ठुला कुरा गरेर नहुने बताउँदै जनताको पीडा, बेदनासँग जोडिएका छौँ कि छैनौँ भननेमा ध्यान दिनुपर्ने बताए । समाजको गरिबी, अभाव र पछौटेपनले नेताहरुलाई पोल्छ कि पोल्दैन ? भन्दै उनले प्रश्न गरे ।

नेपालले भने,‘समाजमा विद्यमान अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव र छुवाछुत त्यसले हामीलाई पिरोल्छ कि पिरोल्दैन ? एउटा मैले भिडियो देखेको थिएँ, त्यसमा लेखिएको थियो, रौतहट गौरको घटना भनेर, थाहा छैन कहाँको घटना थियो । त्यहाँ दलितका ३ वटा बच्चालाई पछाडि हात बाँधेको छ ।

एउटा ठुलो जातीको मान्छेले उसलाई लठ्ठीले उसलाई हिर्काइरहेको छ । बच्चा कराइरहेको छ । वरिपरि सिंगै दलित वस्तिलाई बोलाइएको छ । सम्रान्त वर्गको मान्छेले कुटिरहेको छ, अरू चुपचाप थिए । मैले त्यहाँको एसपीलाई फोन गरेर घटनाको छानबिन गर्न भनेँ ।’

उनले देशका प्रत्येक गाउँमा कम्युनिस्ट पार्टीका संगठन र कार्यकर्ता रहेको भन्दै ती कार्यकर्ताले कस्तो काम गरिरहेका छन्, पार्टीहरूले हेर्नुपर्ने बताए । उनले जनतासँग जोडिनुपर्ने, बस्तीमा नेताहरू जानुपर्ने र बस्तीमा गएमा चुनावमा गएर शासन सत्तामा जानुपर्ने बताए । बस्तिका जनतालाई चेतनशील बनाउने काम राजनीतिक दलको भए उल्लेख गरे । यसका लागि राजनीतिक दलहरू गम्भीर छन् त भन्दै उनले प्रश्न गरे । 

अध्यक्ष नेपालले भने,‘कम्युनिस्ट पार्टीभित्रको भ्रष्टीकरणलाई हामीले रोक्न सकेका छौँ त ? कार्यकर्ताहरूमा व्यक्तिवाद चरम रूपमा बढेको रोक्न सकेका छौँ ? मैले के पाएँ भन्ने प्रवृत्तिलाई रोक्न सकेका छौँ । कार्यकर्तालाई रुपान्तिरित गर्न सकेका छौँ ? जनताको रूपान्तरण टाढाको कुरा हो, अहिले जनताको अगुवा भनिएका कार्यकर्ताहरू तिनीहरूको आचरण र शैली कस्ता छन् ? उनीहरूका संस्कारहरू कस्ता छन्, हाम्रो समाजमा छाउपडी प्रथा छ, बोक्सी भनेर महिलाहरूलाई यातना दिने गरिन्छ । धेरै गरिबका छोराहरू अहिलेपनि पढ्न जान सक्दैनन्, भ्रष्टाचार व्याप्त छ, यस्ता कुराहरूलाई हामी चुनौतीका रूपमा लिन्छौँ कि लिँदैनौँ ?’

अध्यक्ष नेपालले समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामलाई प्रशंसा गर्नुपर्ने र नराम्रो काम गरेको छ भने ध्यान दिनुस् भनेर पनि भन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस