कांग्रेसले वैशाख अन्तिममा ‘सुवर्ण शमशेर आर्थिक सम्मेलन’ गर्ने

सफल खबर संवाददाता

विहीबार, १५ चैत्र २०८०, १२ : ३७
कांग्रेसले वैशाख अन्तिममा ‘सुवर्ण शमशेर आर्थिक सम्मेलन’ गर्ने

काठमाडौं। देशको अर्थतन्त्रको समस्या समाधानका लागि नेपाली कांग्रेसले वैशाखमा आर्थिक सम्मेलन आयोजना गर्ने भएको छ ।बीपी कोइरालाको मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका कांग्रेस संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाममा कांग्रेसले आर्थिक सम्मेलन आयोजना गर्न लागेको हो ।

 

बिहीबार नवलपरासीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले वैशाख मसान्तमा आर्थिक सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।‘सम्भवतः वैशाखको मसान्तमा हुनसक्छ, सुवर्ण शमशेर आर्थिक सम्मेलन गर्ने तयारी गरेका छौं ।

जुन सम्मेलनमार्फत देशको आर्थिक संकटबारे वृहत् छलफल हुनेछ,’ महामन्त्री थापाले भने, ‘बैंकमा पैसा थुप्रिँदा पनि उद्योग गर्नु टाट पल्टिनु हो । पैसा राख्दा ब्याज आउँछ भन्ने मानसिकता अन्त्य गरेर पैसा कसरी चलाउने, कसरी गराउने भन्नका लागि र देशलाई निकास दिनका लागि सम्मेलनको तयारी गरिरहेका छौं ।

कांग्रेस सरकारमा सहभागी भएपनि/नभएपनि देशको प्रमुख राजनीतिक शक्तिको नाताले अर्थतन्त्रको समस्या समाधान गर्नका लागि जिम्मेवारी लिन थालेको उनले बताए । ‘देश अप्ठ्यारोमा अवस्थामा रहेको बेला पार्टी सरकारमा सहभागी भएपनि नभएपनि अस्तव्यस्तताबाट बाहिर निकाल्ने हाम्रो जिम्मेवारी हो,’ थापाले भने । 

महामन्त्री थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गर्दै कांग्रेस फेरि सरकारको नेतृत्वमा फर्किने बताए ।