अध्यायमन देशको मुहार हो, सुधारका योजना ल्याउनुस् : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

मंगलबार, १३ चैत्र २०८०, १३ : ४५
अध्यायमन देशको मुहार हो, सुधारका योजना ल्याउनुस् : गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अध्यागमन विभागमा सुधार आवश्यक भएको बताएका छन् । मंगलबार विभागको निरीक्षणमा गएका लामिछानेले अधिकारीहरूको ब्रिफिङ सुनेपछि अध्यागमन हेरेर देशको अवस्था कस्तो छ भन्ने कुरा विदेशीले थाहा पाउने भएकाले सुधार गर्न निर्देशन दिए ।

अध्यागमनले वैदेशिक रोजगारीमा जाने र नेपाल आउनेसँग भद्र व्यवहार गर्न लामिछानेले आग्रह गरे । 'विदेशीका लागि अध्यायमन देशको मुहार हो। मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन,' उनले भने, 'अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।'

मुलुकको अर्थतन्त्रमा ठूलो योगदान दिने वैदेशिक रोजगारीमा जाने नेपालीलाई अध्यागमनले सहानुभूतिसहितको व्यवहार गर्नुपर्ने उनको भनाइ थियो ।

'रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह छ । सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउनुहुन आग्रह छु,' लामिछानेले भने ।

नेपालको अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्नेमा लामिछानेले जोड दिए । अध्यागमनमा केही खराब मान्छेका कारण इमानदार कर्मचारीले पनि दुःख पाउने गरेको लामिछानेको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस