भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी!

पत्रपत्रिकाबाट

बुधबार, १२ पुस २०७४, ०६ : ५०
भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी!

ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित हेडक्वार्टरको स्टोर कोठामा पुस ३ गते बिहान २ बजेतिर आगलागी भएको थियो । सो घटनाबारे अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय प्रहरी अपराध महाशाखाले सशस्त्रको ढुवानी सम्बन्धी कागजपत्र जलाउने उद्देश्यले सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठले मट्टितेल छर्केर आगो लगाएको निष्कर्ष निकालेको हो ।

सशस्त्रमा सामान ढुवानी शीर्षकमा नक्कली बिल खडा गरेर भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा लेखा शाखामा कार्यरत हवल्दार श्रेष्ठले समेत ढुवानीको नाममा पेस्की रकम लिएर अनियमितता गरेको देखिएपछि अख्तियारले उनलाई बोलाएर बयान लिएको थियो ।

बयानपछि अख्तियारले ढुवानीसम्बन्धी फाइल मगाएको थियो । प्रहरी अनुसन्धानमा उनले सोही फाइलका प्रमाण नष्ट गर्न आगो लगाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस