हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, १४ : ५१
हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन :  गृहमन्त्री लामिछाने

चितवन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् । होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन । त्यसैले गल्ती गर्ने कसैलाई छोड्नेवाला छैनौं, कसैलाई जोगाउन लाग्नेवाला छैनौं ।’ रास्वपाका सभापतिसमेत रहेका लामिछानेले चुनावमा जनता समक्ष गरेका वाचा र उठाएका मुद्दा नबिर्सिएको पनि बताएका छन् । ‘हिजो जे वाचा गरेर भोट मागेका थियौं, एक-एक बुँदा याद गरेर बसेका छौं,’ लामिछानेले भने, ‘त्यही वाचा सम्झेर काम गर्न र जनताको गुण तिर्न सरकारमा गएका हौं ।’

लामिछानेले फाइलमा केहीको नाम आएपछि रोकिएको सुनकाण्ड पुनः ब्यूँत्याएको बताए । उनले भने, ‘अब जुनसुकै विषयमा जोकोही जोडियो भने पनि जोगिनेवाला छैन, परिणाम हेर्दै जानुस् ।’

गृहमन्त्री लामिछानेले सरकारमा गएको छोटो समयमा केही परिणाम दिएको दाबीसमेत गरे । उनले भने ‘केही परिणाम तपाईंहरूले देखिसक्नुभयो, केही देखिनेवाला छन् । सुशासनको रफ्तार कसैगरी रोकिनेवाला छैन ।’

उनले नागरिकको सेवा गर्नकै लागि सरकारमा गएको बताएका छन् । लामिछानेले भने, ‘नयाँ हौं, पुरानासँग टाढै बसेर चोखो बन्ने छुट पनि थियो । तर जोखिम मोलेरै सरकारमै गएका छौं । सरकारमा गएर गरेका कामको आधारमा आगामी निर्वाचनमा भोट माग्नेछौं ।’ उनले १२ लाख जनताले दिएको भोटको गरिमा कायम राख्नेगरी काम गर्ने पनि बताए ।