बाँदर धपाउन किसानलाई कुकुर वितरण

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, १६ : २८
बाँदर धपाउन किसानलाई कुकुर वितरण

अर्घाखाँची । बाँदरको आतंक र अचाक्ली रोक्न अर्घाखाँचीमा भोटे जातका कुकुर बाँड्न सुरु गरिएको छ । खेतबारीमा अन्नबाली, फलफूल र तरकारी बाँदरले नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि बुधबारबाट कुकुर बााँड्न थालिएको पाणिनि गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।

यसअघि उनले किसानका हातमा प्लास्टिक–पाइपबाट बनाइएका बन्दुक दिएका थिए । खेतबारीमा काँडेतार लगाएर पनि बाँदरबाट बाली जोगाउने उपाय अपनाइएको थियो। तर, केही गरे पनि बाँदर नियन्त्रण नभएपछि यहाँका किसानलाई पछिल्लो समय कुकुर बाँड्न सुरु गरिएको उनले बताए ।

धादिङबाट ३, कास्कीको माछापुच्छ्रे गाउँबाट ४ र लेखनाथबाट २ वटा भोटे कुकुर ल्याएर किसानलाई वितरण गरिएको छ । ४० देखि ६० दिनका ९ वटा कुकुर ल्याएर बाँडेको वडाध्यक्ष पौडेलले बताए । ‘कुकुरलाई रेबिज भ्याक्सिन लगाएर घरमा पालिनेछ,’ उनले भने, ‘कुकुरलाई घर र बारीका छेउमा चौकीदारी राख्ने हो । बाँदर आए भुक्छ र लखेट्छ ।’

बाँदरले खेतबारीका धान, मकै, गहुँ, कोदो, फापरदेखि तरकारी, फलफूल नोक्सान गरेर केही वर्षदेखि दुःख दिएको छ । घरमा मान्छे नदेखे घरभित्र पसेर अँगेनामा पकाएको खाना खाइदिने, लत्तकपडा भताभुंग पारिदिने गर्दा हैरानी पारेको छ ।

‘धपाउन मान्छे लाग्यौं, गन देखायौं, प्लास्टिक पाइपको बन्दुक बनाएर देखायौं, टेर्दै टेरेन,’ पौडेलले भने, ‘भोटे कुकुर अलि रिसालु हुने, भुक्दा ठूलो स्वर आउने र लखेट्ने भएकाले बाँदर गाउँबाट भाग्छ कि भन्ने आशा छ । बाँदर नधपाउने हो भने गाउँबाट नै मान्छेको उठिबास लाग्ने डर भयो ।’ खेतबारीको अन्नपातजति वन्यजन्तुले खाइदिएपछि गाउँ छाड्नु पर्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस