जीबी राईलाई पक्राउ गर्नेबारे गृहमन्त्री लामिछानेले भने– काम गर्दैछु, गरेपछि थाहा हुन्छ

सफल खबर संवाददाता

मंगलबार, ०६ चैत्र २०८०, १६ : ५२
जीबी राईलाई पक्राउ गर्नेबारे गृहमन्त्री लामिछानेले भने– काम गर्दैछु, गरेपछि थाहा हुन्छ

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न पहल गरिरहेको बताएका छन् । मंगलवार संसद् बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीले सोधेको ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले काम भइरहेको दाबी गरेका हुन् ।

‘काम गर्दैछु, गरेपछि थाहा हुन्छ, भएपछि ब्रेकिङ गर्नुहोस्,’ उनले भने ।पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको उजुरी छ । राई भने फरार छन् ।

सो अवसरमा गृहमन्त्री लामिछानेले आफ्नो राजीनामा माग्ने प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई चार वर्ष संसद् अवरुद्ध गर्न शुभकामना पनि दिएका छन् ।कांग्रेसले चार वर्ष संसद् अवरोध गर्यो भने काम गरेर सरकार झनै सफल हुने भन्दै उनले व्यंग्य गरे ।

उनले यस्तै पूरक र ठाडो उजरीका आधारमा संसद् अवरुद्धको अभ्यास गर्ने हो भने यसमा अडिरहन कांग्रेसलाई अनुरोध गरेका हुन् ।‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु । म भन्छु कांग्रेसले चार वर्ष संसद् अवरुद्ध गरोस् ।

हाम्रो संयन्त्रले चार वर्ष काम गरोस्,’ उनले भने, ‘देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न मिल्दैन ।’

कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने प्रश्नको जवाफले जनताले बुझेको पनि गृहमन्त्री लामिछानेले बताए ।प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस