योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै

सफल खबर संवाददाता

आइतबार, २७ फागुन २०८०, १३ : ०६
योग र ध्यान सिक्न पाकिस्तानबाट मुसलमान टोली काठमाडौँ आउँदै

काठमाडौँ । योग तथा ध्यानप्रति आकर्षित हुँदै गएको पाकिस्तानको मुसलमान समुदायको एउटा टोली योग र ध्यानको अध्ययन र प्रशिक्षण लिन काठमाडौँ आउने भएको छ।

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले कम्तिमा १ सय जना पाकिस्तानी योग र ध्यानका लागि छिट्टै नेपाल आउने र यसले नेपालको पर्यटन प्रवद्र्धनमा मद्त पुग्ने जानकारी  दिए ।

‘उनीहरु योग र ध्यान सिक्न, प्रयोग गर्न र सीप विकास गर्न आउने तयारीमा छन’ उनले आइतबार भने । यसअघि इस्लामावादस्थित नेपाली दूतावासले ‘विपश्यनाः तनाव व्यवस्थापन र राम्रो विश्वका लागि आन्तरिक शान्ति’ शीर्षकमा कार्यक्रम आयोजना गरी योग र ध्यानबारे प्रशिक्षित गरेको थियो । 

त्यसक्रममा राजदूत अधिकारीले तक्षशिला र तख्त–१ बही र पाकिस्तानका अन्य ठाउँहरुमा विपश्वनाका प्रमाणहरुबारे जानकारी गराए । नेपालले लामो समयदेखि परम्पराका रुपमा अभ्यास गरिरहेको योग र ध्यान सबैका लागि उपयोगी हुने उनको भनाई थियो । उनले योगा र ध्यान अराजनीतिक, अधार्मिक र मानवको जीवन उपयोगी रहेको बताए।

विपश्यना शिक्षक खगेश्वर अर्यालले पनि विपश्यनाको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा पाकिस्तानी सरकारका अधिकृतहरु, व्यापारिक गृहका प्रमुख, मानवस्रोत विभागका व्यवस्थापक, योग शिक्षक र प्रयोगकर्ताह्ररु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस