नारायणी नदी किनार सरसफाइ

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०७५, १० : २७
नारायणी नदी किनार सरसफाइ

चितवन । भरतपुर महानगरपालिकाको सप्ताहव्यापी सरसफाइ कार्यक्रमअन्तर्गत नारायणी नदी किनार सरसफाइ गरिएको छ । यसअघि आज महानगरभित्रका सम्पूर्ण सार्वजनिक संस्थाहरु तथा पार्कहरु, शैक्षिक संस्थाहरु, धार्मिक स्थलहरुको सरसफाइ गरिएको थियो । नारायणी नदी किनारको सरसफाइ कार्यक्रममा विभिन्न सरसफाइका संघसंगठनहरु सामाजिक अभियान्ताहरुको उल्लेख्य सहभागिता थियो । 
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीका अनुसार  सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नारायणी नदी किनार सरसफाइ गरिएको हो ।  

सरसफाइको अभियान जारी : रेनु दाहाल 
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरलाई स्वच्छ, हराभरा र सुन्दर बनाउने अभियान जारी रहेको बताइन् ।  विश्व सरसफाइ दिवस मनाउने सन्दर्भमा महानगरमा विविध सरसफाइका कार्यक्रम भइरहेको उनले जानकारी दिइन् । उनले भनिन्, ‘भरतपुरलाई देशकै सरसफाइमा नमुना बनाउनको लागि विश्व वातावरण दिवसको अवसरमा साताव्यापी सरसफाइको कार्यक्रम घोषणा गरेका छौँ । अहिले साताव्यापी अभियान जारी रहेको छ ।’ उनले सप्ताहव्यापी कार्यक्रममा मात्र नभई सबै नगरवासीलाई सधैँ सरसफाइमा जुट्न आग्रह गरिन् । स्मार्ट सिटीको अवधारणालाई साकार बनाउन पहिला महानगरलाई सफा स्वच्छ र हराभरा बनाउनुपर्ने हुनाले यस कार्यमा सबै नगरवासी जुट्नुपर्ने उनको भनाइ थियो । 


भरतपुर महानगरपालिकाभित्रका वडा नं. ७, ११ र २१ वातावरणमैत्री घोषणा भइसकेका छन् । प्रमुख दाहालले बाँकी वडाहरु पनि वातावरणमैत्री बनाउँदै लैजाने बताइन् । उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधान खोजिएको बताइन् ।  
विश्वका १५० भन्दा बढी राष्ट्रमा एकैदिन हुन लागेको विश्व सरसफाइ दिवस नेपालमा पनि ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ मनाइएको छ । भदौ २४ देखि ३० गतेसम्म देशभर सरसफाइका सव्ताहव्यापी कार्यक्रम भइरहेका छन् । सोही कार्यक्रमलाई भरतपुर महानगरपालिकाले पनि भव्यताका साथ महानगरलाई सफा र सुन्दर बनाउन सरसफाइको कार्यक्रम गरिरहेको छ । 

सरसफाइ थप कार्यक्रम 
भदौ २९ गते– सडक सफाइ दिवस (सम्बन्धित वडामा रहेका सडकमा सरसफाइ) 
भदौ ३० गते– वृहद सफाइ दिवस (महानगरका मुख्य राजमार्ग सरसफाइ कार्यक्रम पोखरा बसपार्कदेखि गोन्द्राङचोकसम्म । समय बिहान ७ देखि ९ बजेसम्म) ।

 

प्रतिक्रिया दिनुहोस