क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

सफल खबर संवाददाता

सोमबार, २९ माघ २०८०, १६ : ०९
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्‍याए ।

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए ।

नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस