१५ ओभरमा २ विकेट गुमाएर क्यानडाले बनायो ६२ रन

सफल खबर संवाददाता

सोमबार, २९ माघ २०८०, १० : ४१
१५ ओभरमा २ विकेट गुमाएर क्यानडाले बनायो ६२ रन

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी नेपालविरुद्धको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले १५ ओभरमा दुई विकेट गुमाएर ६२ रन बनाएको छ । क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाल २८ र चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तन एक रन बनाउँदै क्रिजमा छन् । 

क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् । 
हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो ।

क्यानडाको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्नेलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि विजयरत्नेले २८ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । १४औँ ओभरको अन्तिम बलमा विजयरत्ने आउट हुँदा क्यानडाले ५५ रन बनाएको थियो । 

शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको हो । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस