माघमै ढकमक्क फुल्यो लालीगुराँस

सफल खबर संवाददाता

शनिबार, २७ माघ २०८०, १० : ५४
माघमै ढकमक्क फुल्यो लालीगुराँस

मुगु । मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत,वैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन् ।

‘पहिले पहिले चैत वैशाखमा लालीगुराँस फुल्ने गर्थ्यो यो वर्ष त माघमै फुल्यो आश्चर्य भएको छ’ छायानाथ रारा नगरपालिका ११ का स्थानीय दान बहादुर सावतले बताए । मुगुमा गुराँसजस्तै अन्य बोटबिरुवामा पनि नयाँ पालुवा लाग्न थालेको स्थानीयहरू बताउँछन् । चैतमा फुल्ने स्याउ पुसमा नै फुलेर स–साना दाना समेत लागिसकेको स्थानीय सावतले बताए ।

यो वर्ष हिमपात र पानी पनि समयमै परेको छैन । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा मौसम अगावै गुराँस फुल्ने र फलफूलका बोटमा दाना लाग्न थालेका छन् ।  अघिल्ला वर्षहरूमा मङ्सिर पुसमा हिमपात हुने गरेको भएपनि यो वर्ष मुगुमा छुटफुट हिमपात मात्रै भएको र हिउँदे वर्षा पर्याप्त नहुँदा खेतीपाती राम्रो नहुने स्थानीय बताउँछन् । 

प्रतिक्रिया दिनुहोस