वायुसेवा निगमले सिनामंगलमा अत्याधुनिक भवन बनाउने

सफल खबर संवाददाता

शनिबार, १३ माघ २०८०, १३ : ४९
वायुसेवा निगमले सिनामंगलमा अत्याधुनिक भवन बनाउने

काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौंको सिनामंगलमा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ । सिनामंगलस्थित निगमकै जग्गामा बन्ने केन्द्रीय कार्यालय भवन निर्माण स्थलको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको उपस्थितिमा भूमिपूजन गरिएको हो ।

 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भूमिपूजन कार्यक्रममा मन्त्री किराँतीसहित कार्यकारी अध्यक्ष युवराज अधिकारी, निगमको सञ्चालक समिति सदस्य किशोर प्रधान, वरिष्ठ क्याप्टेन सुधिर शमसेर राई र अमृतमान श्रेष्ठ, निगम व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले भवन निर्माणपछि निगमको प्रगति थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।त्यस्तै, सञ्चालक समिति सदस्य प्रधानले निगमको व्यावसायिक हित र सम्पत्तिहरूको उचित उपयोग तथा व्यवस्थापनमा सधैं सहयोग रहने बताए ।

कार्यकारी अध्यक्ष अधिकारीले करिब ३५ रोपनी क्षेत्रफलको जग्गामा सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कनेगरी ऐतिहासिक भवन तथा संरचना निर्माण गरिने बताए । 

निगमका अन्य २३ स्थानमा रहेका घरजग्गा तथा संरचनाहरूको विस्तृत अध्ययनगरी संरक्षण गर्ने र आम्दानी वृद्धि हुनेगरी उचित व्यवस्थापन गरिने उनले बताए ।

बहुवर्षीय योजनाअन्तर्गत निगमको केन्द्रीय कार्यालय भवन निर्माण गरिने प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस