काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण सुरु, धाराको पानी खाएर प्रधानमन्त्रीले गरे शुभारम्भ

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, ०९ : ४१
काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण सुरु, धाराको पानी खाएर प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको  शुभारम्भ गरेका छन्।

सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन्। सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर पानी पिउँदै उनले मेलम्चीको पानी पुन : वितरण कार्यको शुभारम्भ गरेका हुन्। 

गएको वर्षातको समयमा सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध भएको मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट पुनः काठमाडौँमा विवतरण सुरु भएको हो।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा अब क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए। 

अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए। 

लामो प्रतिक्षापछि काठमाडौँ आएको पेलम्चीको पानी विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहानमा क्षति पुग्दा बाह्रै महिना वितरण हुन नसक्ने अवस्थामा पुगेको छ।

वर्षात्को बेला रोकिने गरेको मेलम्चीको पानी हिउँदका केही महिना भने काठमाडौँमा वितरण हुने गरेको छ।