मधेशमा अत्याधिक चिसो: धेरैजसो विद्यालय बन्द, बालबालिका र वृद्धवृद्धा मारमा

सफल खबर संवाददाता

शनिबार, २८ पुस २०८०, १० : ४२
मधेशमा अत्याधिक चिसो: धेरैजसो विद्यालय बन्द, बालबालिका र वृद्धवृद्धा मारमा

जनकपुर । विगत केही दिनदेखि तराई मधेशका जिल्लामा शीतलहर चलेको छ । शीतलहरसँगै बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहामा अत्यधिक मात्रामा चिसो बढेको छ । 

शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर बढी प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ ।

उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए । 

चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ । 

शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ । 

शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । 

ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । 

घाम लाग्न छोडेको छ । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका रामविलास यादवले बताए ।

प्रतिक्रिया दिनुहोस