खानेपानीको महशुल नबुझाउनेमा जिल्ला समन्वय समिति सबै भन्दा अगाडि

सुरेन कुँवर

बुधबार, २० भदौ २०७५, १६ : १७
खानेपानीको महशुल नबुझाउनेमा जिल्ला समन्वय समिति सबै भन्दा अगाडि

चितवन : जिल्ला समन्वय समितिले लामो समयदेखि खानेपानीको महशुल नबुझाएको भरतपुर खानेपानी व्यवस्थान वोर्डले जनाएको छ । वोर्डको तथ्याङक अनुसार कार्यालयमा जडान गरिएका ६ वटा धाराको महशुल झण्डै २ बर्षदेखि बुझाईएको छैन ।

जिससले वोर्डलाई २ लाख ९८ हजार तिर्न बाँकी रहेको देखिएको छ । बिल भुक्तानीको लागि ३ महिनासम्म जरिवाना नलाग्ने भएपनि कार्यालयले २ बर्षदेखि बक्यौता रकम नबुझाएकाले जरिवानाले गर्दा तिर्नुपर्ने रकम वृद्धि हुदै गईरहेको छ । वोर्डले महशुल भुक्तानीका लागि पत्रचार गरेपनि कुनै सुनुवाई नभएको वोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिनुभयो ।

जिल्ला विकास समितिको ग्राहक नम्बर १३४४६ मा  जरिवाना सहित ५७ हजार , ग्राहक नम्बर १३२७४ मा २१ हजार , ग्राहक नम्बर १३३६१ मा जरिवाना सहित ५३ हजार , ग्राहक नम्बर १३२७५ मा ५४ हजार , ग्राहक नम्बर १३२८३ मा ५७ हजार र ग्राहक नम्बर १३२८६ मा ५६ हजार रकम उठेको छ ।

जिसस चितवनका अध्यक्ष कृष्ण कुमार डल्लाकोटीले बजेट अभावले महशुल तिर्न नसकिएको जानकारी दिनुभयो । कार्यालयले अम्दानी गरको रकम कोषमा राखेको छ । जिससको आन्तरिक कोषमा पैसा भएपनि संघिय मामिला तथा समान्य विकास मन्त्रालय रकम खर्च नगर्न भनेकाले पानीको महशुल तिर्न नसकिएको जानकारी दिनुभयो । अब हामी महशुल तिर्ने प्रकृयालाई अगाडि बढाउदैछौ –उहाँले भन्नुभयो ।

त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय चितवन अन्तरगत मातृशिशु कल्याण योजना १ लाख ३९ हजार ,महेन्द्र चिकित्सालय १ लाख ३ हजार बक्यौता रहेको छ । सरकारी कार्यालयमा जिल्ला जनस्वास्थ्य दोस्रो नम्बरमा छ ।
अर्को सरकारी कार्यालय खेलकुद विकास समितिको नमुना भारोत्तोलनको नाममा १ लाख २० हजार बक्यौता तिर्न बाँकी छ । 
त्यस्तै चितवन एकेडमी फर टेक्निकल एजुकेशनले १ लाख ३१ हजार ६ सय रुपैयाँ ,नारायणी आवसीय तालिम अनुसन्धान केन्द्रको ८४ हजार रुपैयाँ देखिएको छ । 

वोर्डले बक्यौता तिर्नुपर्ने रकम धेरै भएकाहरुलाई पत्रचार गरेको जनाएको छ । निर्देशक दाहालले रकम नबुझाए पानीको लाईन काट्ने प्रकृया अगाडि बढाईने जानकारी दिनुभयो । उहाँले भन्नुभयो , घरमा जडान गरेको धारामा यस्तो समस्या छैन । सबैभन्दा बढि सरकारी कार्यालयहरुको महशुल भुक्तानीमा समस्या हुने गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस